काठमाडाैं । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगाे सवारीसाधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले सामाजिक सञ्चालबाट जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका हुन् । 'म करोडौं पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँडन चाहन्छु । ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु', उनले भने ।
धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । 'पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ भने मलाई कल गर्नुहोला उनले भनेका छन् ।
उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ । चालक पनि तयारी अवस्थामा छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । 'हामीले उहाँहरुले पाउने सेवा सुविधा तयारी अवस्थामा राखेका छौं, सुविधा लिने वा नलिने भन्ने उहाँहरुको इच्छा हो', अधिकृत खतिवडाले भने ।
मंगलबार पदभार ग्रहणपछि प्रमुख राई उपमहानगरपालिका पुगेका छैनन् । आफू जनताका आधारभूत र अति आवश्यक समस्या समाधान नभएसम्म फिल्डमै हुने विजयी हुनेबित्तिकै घोषणा गरेका थिए । प्रमुखमा निर्वाचित भएपछि विभिन्न सामाजिक संघ संस्थाको सम्मानका लागि निम्ता आउन थाले पनि उनले सामाजिक सञ्जालबाटै सम्मानका लागि नबोलाइदिन आग्रहसमेत गरेका छन् ।
लामो सयमदेखि सामाजिक अभियानमा लागेका साम्पाङले चुनावको मुद्दा नै खानेपानी बनाएका थिए । मंगलबार पदभार ग्रहण गर्दै उनले पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावट रोक्ने प्रतिबद्धता जनाएका छन् । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिँदै गएको उनको ठहर छ ।
राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेस गर्न एक कार्यदल गठन गर्ने निर्णय पनि गरिसकेका छन् । कार्यदलको संयोजकमा उपप्रमुख अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख रहेका छन् ।