काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र उमेदवार बालेन्द्र साह बालेनले विजयोत्सव मनाउनकै लागि भनेर कसैलाई काठमाडौं नआउन आग्रह गरेका छन् ।
देशका विभिन्न ठाउँबाट जितको खुसियालीमा मानिसहरु काठमाडौं आएर र्यालि निकाल्ने जानकारी पाएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले र्यालीको दुःख नगर्न आग्रह गरेका हुन् ।
साथै सबै जनाले आफू भएकै ठाउँमा ‘धन्यवाद र्याली’ निकालेर सहयोग गर्नसमेत उनले आग्रह गरेका छन् ।
स्थानीय तह निर्वाचन २०७९ मा बुधबार बिहान १०ः४५ बजेसम्म उनले ५५ हजार ७४७ मत पाइसकेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ र नेकपा एमालेका केशव स्थापतिले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको छ । जित सुनिश्चत भएसँगै उनलाई बधाई तथा शुभकामना दिनेको संख्या पनि बढेको छ ।
जित निश्चित भएसँगै बालनेले अबको बाटो सहज नभएको बताएका छन् । आफ्नो अभियानको वास्तविक परीक्षा अब सुरु हुने उनको भनाइ छ ।
यस्तो छ उनले लेखेको फेसबुक स्टाटस
‘हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।
जित–हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेको दिन सबै मिलेर विजय उत्सव मनाऊँँला । तर, अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।
यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतबाहेक बाँकी ५० प्रतिशत जति मतदाताले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।
दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुःख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।
अभियानको अहिलेसम्मको सफलताका लागि खुसीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्याली’ गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।
अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयास ले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।
हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको ऊर्जाका लागि हामी सधैं तपाईंहरुसँग जोडिरहेका हुन्छौं । तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुनेबित्तिकै हामी आवाज दिनेछौं ।
अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं । हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिऊन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकून्, अवसर पाउन सकून् ।
अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं ।’