काठमाडौं । गैरआवासीय नेपालीको लगानी रहेको सानिमा ग्रुपको मिडिल तमोर आयोजना एक वर्षमा सम्पन्न हुने भएको छ । ७३ मेगावाटको सो आयोजनाबाट आगामी सन् २०२३ को मध्य जुलाई अर्थात् २०८० साउनदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थाल्ने भएको हो ।
हालसम्म मिडिल तमोर जलविद्युत् आयोजनाको ६३ प्रतिशतभन्दा बढी काम सकिएको छ भने ३७ प्रतिशतभन्दा कम निर्माण बाँकी छ ।
यो प्रगति प्रतिवेदन सन् २०२२ को फेब्रुअरीसम्मको हो । ग्रुपले सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडमार्फत आयोजना निर्माण थालेको हो ।
आयोजना आन्तरिक खपतका लागि आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता (पीपीए) भइसकेको छ । नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजना बनाउन १३ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको डिजाइन परिवर्तन र साइटका कारण लागत बढेको हो ।
यसअघि आयोजना बनाउन १२ अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जसमध्ये २५ प्रतिशत स्वपुँजी (इक्विटी) र बाँकी ९ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ बैंकबाट ऋण लिएको छ । आयोजनाको बढेको लगात ४८ करोड ८० लाख रुपैयाँ ऋण स्वीकृतिको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआई बैंकको लगानी छ ।
७ बैंकको सहवित्तीयकरणमार्फत ७५ प्रतिशत ऋण लगानी भएको छ । कम्पनीले ९ अर्ब ५० करोड ९५ लाख रुपैयाँको रेटिङ गराएको छ । केयर नेपाल लिमिटेडले केयर एनपी डबल बी रेटिङ दिएको छ । आयोजनाको वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीले ६ अर्ब ४२ करोड रुपैयाँ आयोजना बनाउन लगानी गरिसकेको छ । यो वित्तीय प्रगति गएको फेब्रुअरीसम्मको हो ।
पहिले आयोजना ५२.१० मेगावाटमा डिजाइन गरिएकामा पछि २०.९० मेगावाट बढाइ ७३ मेगावाट पुर्याइएको छ । आयोजनाबाट वार्षिक ४२ करोड ९० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ ।
आयोजनाको सिभिलको काम चीनको टेच्याङ फस्र्ट हाइड्रो, इलेक्ट्रोमेकानिकलको काम चीनको चोकिङ टर्बाइन कम्पनी र हाइड्रो मेकानिकल नेपालको माछापुच्छ्रे मेटल कम्पनीले गरिरहेका छन् ।
सानिमा समूहले ७३ मेगावाटको मिडिल तमोर, २८.१ मेगावाटको लोअर लिखु सञ्चालनमा ल्याइसकेको छ । यस्तै २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको सानिमा क्यासकेड आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ । सानिमाले सहायक कम्पनीमार्फ १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना निर्माण गरिरहेको छ ।
मिडिल तमोर आयोजना पाँचथरको फुङलिङ नगरपालिका, पताङलुङ गाउँपालिकामा पर्छ । यस्तै विद्युतगृह मिक्वाखोला गाउँपालिकाको तमोर नदीको दायाँ किनार ताप्लेजुङमा पर्छ ।
सरकारले सन् २०२४ को मध्यसम्म सम्पन्न हुने आयोजनालाई १० वर्ष पूरै र त्यसको ५ वर्ष आधा कर छुट सुविधा दिएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली ९ किलोमिटर टाढा रहेको २२० केभी ढुङेसाँघु सबस्टेसनमा जोडिनेछ ।
मिडिल तमोर कम्पनी सन् २०१७ मा स्थापना भएको हो ।