काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न सुरु भएको छ । २०७६ वैशाखबाट बन्चरेडाँडा ल्याफिल साइट निर्माण सुरु भएको थियो ।
सहरी विकास मन्त्रालयले २०७६ वैशाख २२ गते एक वर्षभित्र ‘फेज वान’ को काम सक्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीसँग ३९ करोड १९ लाख ६८ हजार ६ सय ३१ रूपैयाँमा सम्झौता गरेको थियो । त्यस्तै विभागले २०७६ चैत १८ गते कालीका कन्स्ट्रक्सनसँग ४६ करोड ५ लाख २० हजार ३ सय ३७ रूपैयाँमा बन्चरेडाँडा निर्माणका लागि अर्को ठेक्का सम्झौता गरेको थियो ।
२०७६ चैतको सम्झौताअनुसार कालीकाको म्याद २०७८ जेठ २० गतेसम्म थियो ।
तर, दुइटै निर्माण कम्पनीले २÷२ पटक म्याद थप गरेर मात्रै ल्याडफिल साइट निर्माणको काम अन्तिम चरणमा पुर्याएका हुन् । उपत्यकाको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी काठमाडौं महानगरपालिकाको भए पनि २०७५ मंसिर १७ गते मन्त्रिपरिषद्को निर्णयले उपत्यकाको फोहोर व्यवस्थापन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिएको थियो ।
मन्त्रिपरिषद्को सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले कालीका र लुम्बिनी जेभिसँग ठेक्का सम्झौता गरेको थियो । यसअघि नुवाकोटस्थित सिसडोलमा काठमाडौं महानगरसहित १७ स्थानीय तहरुको फोहोर व्यवस्थापन हुँदै आए पनि व्यवस्थापन गर्न लामो समयदेखि कठिनाइ हुँदै आएको थियो ।
मंगलबार बिहान बन्चरेडाँडामा १०० ट्रक फोहार पुर्याइएको काठमाडौं महानगरपालिका वातावरण विभागकी प्रमुख सरिता राईले बताइन् । क्यापिटल नेपालसँग कुरा गर्दै प्रमुख राईले भनिन्, ‘आज १०० ट्रकभन्दा बढी फोहोर बन्चरेडाँडाको सेल वानमा पुर्याएका छौं । स्थानीयको अवरोध कायम नै छ, सुरक्षा निकायको निगरानीमा फोहोर व्यवस्थापन सुरु गरेका हौं ।’
सोमबार सहरी विकास मन्त्री रामकुकारी झाँक्रीले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापन गर्न निर्देशन दिएकी थिइन् । मन्त्री झाँक्री सोमबार राति काठमाडौंको बालाजु, बानेश्वर, रातो पुललगायत क्षेत्रमा पुगेर फोहोर व्यवस्थापन गर्न आग्रह गरेकी थिइन् ।
वातावरण विभागीय प्रमुख राईका अनुसार सहरी विकास मन्त्रालयले नै तत्कालका लागि फोहोर व्यवस्थापनको नेतृत्व गरेको छ ।
बन्चरेडाँडामा ल्यान्डफिल साइट करिब तयारी अवस्थामा पुगेको छ । तर, त्यहाँसम्म पुग्ने राम्रो बाटो भने बनिसकेको छैन । वर्षात्को समयमा सिसडोलकै तलबाट बन्चरेडाँडा जानुपर्ने बाध्यता छ । जसका कारण बन्चरेमा फोहोर व्यवस्थापन गर्न पनि सजिलो नभएको विभागले जनाएको छ ।
‘भ्याली वान कै बाटो प्रयोग गरेर अहिले बन्चरेमा फोहोरका ट्रक गएका छन् । त्यो सडक नभई फाहोरको थुप्रो हो, फोहोर माथिबाटै हिँड्नुपर्छ’, प्रमुख राईले भनिन्, ‘त्यही पनि भत्किन थाल्यो भन्ने सुनिएको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने ? भन्ने विषयमा मन्त्रालयमा आज छलफल छ । मन्त्रालयले के भन्छ त्यहीअनुसार अगाडि बढ्छौं ।’
कुहिने र नकुहिने फोहोर नछुट्याई व्यवस्थापन
बन्चरेडाँडा निर्माण गर्दा कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै व्यवस्थापन गर्ने योजना थियो । तर, अहिले व्यवस्थापन सुरु भएपछि भने कुहिने र नकुहिने नछुट्याई फाल्न थालिएको हो ।
ठोस फोहोरको व्यस्थापन गर्न मिल्ने गरी साइट निर्माण गरिएको इन्जिनियरहरु बताउँछन् । तर, औद्योगिक, रासायनिक, स्वास्थ संस्थाजन्य वा हानिकारक फोहोर उक्त साइटमा फाल्न मिल्दैन । र, कुहिने फोहोरबाट निस्किएको रस अर्थात् लिचेडलाई जमिनमुनि जान नदिन माटो, जिओ मेम्रेनको लाइनर सिस्टमजस्ता विभिन्न प्रकारका तहहरु निर्माण गरिएको छ ।
बन्चरेडाँडामा सामान्य अवस्थामा फोहोर विसर्जन गर्दा २५ वर्ष र स्यानेटरी ल्यान्डफिल्ड गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने सरकारको भनाइ छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता विष्णुप्रसाद शर्मा भने अस्थायी रुपमा बन्चरेमा फोहोर व्यवस्थापन गरिएकाले कुहिने र नकुहिने नछुट्याइएको बताउँछन् । ‘तत्कालका लागि अस्थायी रुपमा गरिएको व्यवस्थापन हो । तर, त्यहाँ फोहोर छुट्याएर नै व्यवस्थापन हुन्छ’, प्रवक्ता शर्माले भने ।
स्थानीयले राखेको माग काठमाडौं महानगरपालिकाले मात्रै स्थानीयको माग सम्बोधन गर्न नसक्ने जनाएको छ । स्वास्थ्य, सामाजिकलगायत विभिन्न माग स्थानीयको छ । जसका कारण स्थानीयको माग सम्बोधन संघीय सरकारले गर्नुपर्ने काठमाडौं महानगरपालिकाको भनाइ छ ।
सहरी विकास मन्त्रालयले बन्चरेमा सडक निर्माणका लागि टेन्डर आह्वान गरेको छ ।
कालीका कन्ट्रक्सन र लुम्बिनी कोसी एन्ड न्यौपाने जेभीले ल्यान्डफिल साइड निर्माणको जिम्मेवारी लिएका छन् । बन्चरेमा २ वटा सेल (फोहोर फाल्ने पोखरी) निर्माण भएका छन् । जसमध्ये ‘सेल वान’ निर्माण सम्पन्न भइसकेकाले फोहोर फाल्न थालिएको हो । तर, ‘सेल टू’ को भने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा ५० लाख घनमिटर फोहोर व्यवस्थापन गर्ने गरी २०६६ सालमा १ हजार ७ सय ९२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसमध्ये ३१ हजार वर्ग मिटरलाई ल्यान्डफिलको मुख्यक्षेत्र मानिएको छ ।
साइटमा उपत्यकाको भक्तपुर नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहबाट १०४५ देखि ११ सय टनसम्म फोहोर दैनिक पुग्ने अनुमान सहरी विकास मन्त्रालयको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ र धुनीबेसी नगरपालिका वडा नम्बर १ मा पर्ने बन्चरेडाँडा काठमाडौंबाट २९ किमिको दूरीमा पर्छ ।