काठमाडाैं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी संगठनले माग गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आज मन्त्रालयमा भेटी उनीहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।
मन्त्री बडूले अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र तर आज छलफल गरिने बताएको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए ।
विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरूलाई सहुलियतको मागसमेत गरेका छन् । यस्तै संगठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्याधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।
पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजीकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् । यस्तै भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० वृद्धि गरेको थियो ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
यसैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । साथै, विभिन्न संघसंस्थाले पनि मूल्यवृद्धिको विरोध गरिरहेका छन् ।