काठमाडौं । मुलुककै दोस्रो र ठूलो विमानस्थलको रुपमा प्रचार गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यानसेतु (एरोब्रिज) राखिएको छैन ।
विदेशी मुलुकका साना विमानस्थलमा पनि अनिवार्य रुपमा एरोब्रिज राखिन्छ । यद्यपि नेपालकै सुविधासम्पन्न तथा अन्तर्राष्ट्रिय भनिएको गौतम बुद्ध विमानस्थलमा एरोब्रिज नै नराखी सञ्चालन गरिएको छ ।
अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नुपर्ने सो विमानस्थल आवश्यक पूर्वाधार नै निर्माण नगरी चलेको छ । छिमेकी मुलुक भारतका साना विमानस्थलमा समेत एरोब्रिज राखिएको छ ।
नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थलमा एरोब्रिज नै नहुनु दुःखत र बेइजतीको परकाष्ठ भएको एक उड्डयन विज्ञको भनाइ छ ।
‘सबैको चासो बनेको गौतम बुद्धमा एरोब्रिज नराखिनु दुभाग्र्यपूर्ण हो’, ती उड्डयन विज्ञले भने, ‘पूर्वाधार विकास गर्नु मात्र ठूलो कुरा होइन, त्यसलाई कसरी परिचालन गरिएको छ भन्ने कुरा महत्वपूर्ण विषय हो ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशकले भने सो विमानस्थलको डिजाइन गर्दा नै एरोब्रिज नराखिएको बताए । सुरुमा सानो विमानस्थल बनाउने गरी काम बढाइएकाले एरोब्रिजको अवधारणा नआएको र पछि विस्तार गर्दै जाँदा अन्तर्राष्ट्रिय भएपछि एरोब्रिज नराखिनुु गल्ती भएको उनको स्वीकारोक्ति छ ।
डिजाइन र सम्झौता गर्दा नै एरोब्रिजको विषय उल्लेख नगरिएको उनले बताए ।
यता प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले पनि सो विमानस्थलको डिजाइनमै एरोब्रिज नभएकाले निर्माण नगरिएको बताए । अहिलको टर्मिनल भवनमा एरोब्रिज नभएकाले दोस्रो टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाउन लागिएको पनि उनले बताए ।
सो भवनमा भने एरोब्रिज राखिने भएको छ ।
विमानस्थल निर्माणमा ३० अर्ब (जग्गा मुआब्जासहित) खर्च भएको प्राधिकरणको दाबी छ । विमानस्थल निर्माणको प्रक्रिया सन् २००७ बाटै सुरु भएको थियो । सुरुमा विमानस्थल ३ अर्ब ८० करोड रूपैयाँ लागतमा २४ सय मिटरको रनवेसहित सानो टर्मिनल भवन बनाउने विषय आएको थियो ।
त्यसैबीच लगानीकर्ता एसियाली विकास बैंक (एडीबी) ले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल ठूलो बनाउनु नपर्ने रिपोर्ट तयार पारेको थियो । तर, प्राधिकरणले विमानस्थल बनाइसकेपछि वाइडबडीदेखि ठूला प्रकृतिका बोइङ जहाजसमेत उडान÷अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउनुपर्ने विषय उठान गरेको थियो । प्राधिकरणले तीन हजार मिटरकै रनवेसहितको सुविधासम्म विमानस्थल निर्माण गर्ने निष्कर्ष निकालेको थियो ।
२०१४ को नोभेम्बरमा विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो । सरकारले ६ अर्ब २२ करोड रूपैयाँमा ‘आइसीबी जिरो एक‘ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो ।
एरोब्रिजका लागि करिब १२ करोड लागत
एरोब्रिज बनाउनका लागि करिब १० देखि १२ करोडसम्म लागत लाग्न सक्ने प्राविधिकहरुको भनाइ छ । भएकै संरचनामा एरोब्रिज थप गर्न चाहेमा १२ करोडसम्म लगानी लाग्नेछ भने आवश्यक कर्मचारीहरु पनि थप्नुपर्ने हुन्छ ।
थोरै रकममा एरोब्रिज थप्न सकिने भए पनि प्राधिकरणका उच्च अधिकारीहरु भने नयाँ टर्मिनल भवन बनाउने मेसोमा लागेका छन् । नयाँ टर्मिनल भवन निर्माणका लागि अन्तिम डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अघि बढाइएको विमानस्थल स्रोतले जनाएको छ ।