म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ ।
बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटीय क्षेत्रमा अस्थायी संरचना बनाउन सुरुवात गरेको हो ।
कटान जोखिममा रहेको कालीगण्डकी नदी किनारमा ठूला ढुंगा थुपारेर ‘बोलर स्किङ’ बनाउन थालेका बेनी –७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बर्खायाम सुरु भएको र कालीगण्डकीमा पानीको सतह बढ्न थालेकाले तत्काल स्थायी संरचना बनाउन सम्भव नभएपछि आउँदो बर्खामा थप क्षति हुन नदिन बोलर स्किङ बनाउन पहल गरिएको हो ।
नगरपालिकाले उपलब्ध गराएको ठूला ढुंगा परियोजनाका ठेकेदारले कटान गरेको ठाउँमा लगेर बजारतर्फ बाढी पस्न नदिने संरचना बनाउन थालेका हुन् ।
बाढीले करिब १६० मिटर दूरीमा भत्काएको तटबन्धन मर्मत र पुनर्निर्माण सुरु नहुँदा बाढीले थप कटान गरेर बजारमा क्षति हुने जोखिम बढाएको थियो । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले गत माघ तेस्रो सातादेखि बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा तटबन्धन सुरु गरेको थियो । कालीगण्डकीको डाइभर्सन गराउन विवाद भएको र पानीको सतह बढिसकेकाले संगमचोक पछाडिको कालीगण्डकी किनारमा तत्काल पक्की संरचना बनाउन जोखिम देखिएकाले बर्खाको बाढी रोक्न अस्थायी संरचना बनाउन थालिएको निर्माण कम्पनीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताए ।
२२ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस तेस्रो साता ९ करोड ४५ लाख रुपैयाँमा रौताह–बिएनबी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । कालीपुलमा ८० मिटर पक्की र मंगलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर कम्पोटिल पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगे पनि जेसिज भवन क्षेत्रको कालीगण्डकी किनारमा काम हुन सकेको थिएन ।
सो क्षेत्रमा १६८ मिटर आरसिसी पर्खाल निर्माण गर्ने सम्झौता भए पनि कालीगण्डकी नदी डाइभर्सन गराउने विषयमा पर्वत–बेनी र म्याग्दी–बेनीको विवाद सुल्झाउन ढिलाइ भएपछि निर्माण कम्पनीले कालीपुल र मंगलाघाट क्षेत्रमा काम गरेका थिए ।
बेनीका नगरप्रमुख सुरत केसीले कालीगण्डकी र म्याग्दी नदीको दोभानको बगरबाट ठूला ढुंगाको व्यवस्थापन गरेको बताए ।