काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक साताकाे पहिलाे दिन सोमबार ३४.२१ अंकले घटेको छ । यससँगै सूचक २२००.८८ बिन्दुमा झरेकोे छ । सोमबार १ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २२४० बिन्दुमा खुलेको बजार निरन्तर ओरालो लाग्दै २२०० बिन्दु तल पुगेर बजार कारोबारको अन्तिम समयमा आएर पुनः सोही बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन क्रमिक रुपमा घटेको बजारमा अन्तिम समयमा क्रेता बढ्दा बजार २२ सय बिन्दुमा अडिन सफल भयो ।
चुनावले चहलपहल बढ्ने र खर्च हुने सोही पैसा सेयर बजारमा आउने लगानीकर्ताको मनोविज्ञानले फेल खाएको छ । चुनाव अगाडि केही दिन बढेको बजारले चुनावपश्चात केही बढ्ने छाँटकाँट देखाए पनि बढ्न भने सकेन् ।
२० कम्पनीको मात्र मूल्य बढेको छ । जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.२० प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५.२६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन १९७ कम्पनीको मूल्य घटेको छ ।
जसमध्ये मिथिला लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.८९ प्रतिशत घटेको नेप्सेले जनाएको छ । कारोबारमा आएको विन नेपाल लघुवित्त, तेह्रथुम पावर कम्पनी, प्रभु इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ । नबिलको यस दिन ४ करोड १५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।