विराटनगर । निजी लगानीमा स्थापना गरिएको बन्जरा एग्रो फार्मले हाल फार्मदेखि घरसम्म’ अभियान सञ्चालनमा ल्याएको छ ।
‘पारिको हाेइन बारीको खाऔं, ताजा लिन बन्जरा एग्रो जाऔं’ नारा दिएका बन्जरा एग्रो कृषिकर्म गर्न चाहने नयाँ कृषक एवं व्यवसायीका लागि पाठशालासमेत बनेको छ । सो अभियानअन्तर्गत बन्जरा फार्मले थोक क्रेतासँगै खुद्रा क्रेताको खोजीमा लागेका छन् । आफ्नो फार्ममा भएको उत्पादनलाई उपभोक्तामाझ लैजानका लागि बन्जराले फार्मभित्र र फार्म बाहिर दुई वटा स्टल सञ्चालनमा ल्याएको हो ।
विराटनगरको बरगाछी चोकनजिकै पश्चिमतर्फ चाँदनी चोकमा सञ्चालनमा ल्याएको स्टलमा बन्जराकै उत्पादन लौका, काँक्रा, घिरौँला, साग, डल्लो खुर्सानी, धनियाँ, रायको साग, भिन्डी र गोलभेंडाजस्ताे हरियो तरकारी बिक्री सुरु भएको छ । आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी बन्जरा फार्मको उत्पादित तरकारी विषादीरहित अर्गानिक रहेको बताइएको छ ।
सो पसलमा बन्जराकै उत्पादन, घिउ, दही, पनिर र दूध पनि बिक्रीका लागि राखिएको छ । विराटनगर महानगरपालिका–१२ दरैयामा रहेको सो फार्ममा अहिलेसम्म ३० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । स्थानीय सञ्जय चापागाईं र चीनमा बस्ने उनका मामा गजेन्द्र शर्माले सो फार्म स्थापना गरेका हुन् । शर्मा चीनको पाँचतारे होटलमा महाप्रबन्धकका रूपमा कार्यरत छन् ।
चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरणको सिको गर्दै मामा–भान्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो । ११ करोड रुपैयाँ मूल्यमा ५ बिघा जग्गा खरिद स्थापना गरिएको सो फार्ममा अहिले ११२ भारतीय उन्नत जातका होल–स्टेन जर्सी गाई छन् । प्रतिवटा २ लाख ५० हजार मूल्य पर्ने एक गाईले दैनिक २० देखि ४५ लिटरसम्म दुग्ध दिन्छ । फार्ममा अझै ८८ गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको बताइएको छ ।
दैनिक १ हजार लिटर दुग्ध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दुग्धको दही र पनिर बन्ने गरेको फार्मका सञ्चालक चापागाईंले बताए । दही प्रतिकेजी १५० र पनिर प्रतिकेजी ७०० मा बिक्री हुन्छ भने दुग्ध प्रतिलिटर ७० रुपैयाँ मा बिक्री हुन्छ । मासिक १५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाई प्रत्यक्ष रूपमा रोजगारी पनि दिएको छ ।
गाईको व्यवस्थित गोठ, गोबरग्यास उत्पादनका साथै साइलेज बनाएर पशुआहार संरक्षण केन्द्र पनि बनाएको छ । गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा दुई साइलेज संरक्षण केन्द्र छन् । निकै व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको देखिने फार्ममा भारतका राजस्थान निवासी सुरेन्द्र शर्मा प्राविधिकका रूपमा कार्यरत छन् । अत्यन्त अनुभवी रहेको प्राविधिकको सल्लाह र सुझावबाट नै फार्मले आफ्नाे रूप परिवर्तन गर्न सफल भइरहेको सञ्चालक चापागाईंले जानकारी दिए ।
फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न संघीय सरकारले यस वर्ष लाइभस्टक इनोभेसन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि १ करोड अनुदान दिएको छ । सरकारले गरेको यस किसिमको सहयोगले आफ्नो व्यवसाय र पेसाप्रति अझ जिम्मेवारी बनाएको शर्माकाे भनाइ छ । उनले भने, 'कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो, अब नम'ना एग्रो फार्मबाट चिनाउनेछु ।'
बन्जरा एग्रो फार्ममा अहिले २ बिघा १० कट्ठा जग्गामा तरकारी खेती लगाइएको छ । यहाँका युवा विदेशमा तरकारी खेतीमा काम गर्न हुने यहाँ किन नहुने भनेर मैले तरकारी खेती सुरुवात गरेको उनले बताए ।
भेन्टा, करेल, बन्दाकोवी, गोलभेंडा, काँक्रा, भिन्डी, बोडी र लौकाजस्ता तरकारी लगाइएको सो फार्ममा उत्पादन हुने तरकारी अर्गानिक हुन्छ । कुनै पनि विषादी प्रयोग नगरी आफैले तयार गरेको अर्गानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आम उपभोक्ताका लागि बन्जरा एग्रो फार्म आकर्षण भएको छ ।