काठमाडौं । शिवम् अर्गनाइजेसनको सहायक उद्योग शिवम् एग्रो इन्डस्ट्रिजले १ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । उद्योगले सन् २०२१ मा चामल बिक्री गरेर १ अर्ब ८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
उद्योगको सञ्चालन आम्दानी सन् २०२० को तुलनामा कम हो । सन् २०२० मा शिवमले १ अर्ब २४ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा शिवम् एग्रोको सञ्चालन आम्दानी साढे १५ करोड रुपैयाँ घटेको उद्योगले जनाएको छ ।
सन् २०१९ मा ९४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कोरोना महामारीअघि उद्योगको आम्दानी औसत २५ प्रतिशतले बढेको थियो । महामारी सुरु भएयता प्रिमिय ब्रान्डकाे चामल बिक्रीमा गिरावट आउँदा उद्योगको आम्दानी समग्रमा १३ प्रतिशतले घट्दा सञ्चालन आम्दानीमा असर परेको हो ।
महामारीपछि उद्योगको प्रिमियम ब्रान्डकाे बिक्री बढेपछि उद्योगको सञ्चालन आम्दानीमा केही सुधार आएको हो । यो वर्षको ६ महिनामा उद्योगको आम्दानी उल्लेख्य बढेको छ ।
उद्योग सन् २०१२ जुलाइमा स्थापना भएको हो । उद्योग सञ्चालनमा आएको एक दशक पूरा भएको छ । उद्योगले आफ्नो आधुनिक स्वचालित राइस मिलबाट चालम उत्पादन गर्दै आएको छ ।
उद्योगले लामो र छोटो गरी विभिन्न ७ वटा ब्रान्डकाे चामल उत्पादन गरिरहेको छ । उद्योगले ५ देखि ३० किलोको प्याकेटमा चामल बजारमा ल्याएको छ ।
कारखाना नेपाल–भारत सीमानजिक पर्साको वीरगञ्जमा छ ।
शिवम् ग्रुपका कृषिमा आधारित आधा दर्जन उद्योग सञ्चालनमा छन् । चामलफ दाल, कुखुराको दाना, गाईवस्तुको दानालगायत कृषिजन्य वस्तुको उत्पादन गर्दै आएको छ ।
एग्रोले १ अर्ब ९ करोड १७ लाख ६० हजार रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर नेपाल लिमिटेडले केयर एनपी ए फोर प्लस रेटिङ दिएको छ ।
१ अर्ब अल्पकालका लागि र ९ करोड दीर्घकालका लागि ऋणको रेटिङ गराएको छ ।
उद्योगकाे सुरुवातदेखि नै शिवजीप्रसाद साह कलवार अध्यक्ष र प्रमोदकुमार साह प्रबन्ध सञ्चालनकको रूपमा कार्यरत छन् ।