काठमाडौं । प्लास्ट नेपाल फाउन्डेसनले ‘प्लास्ट नेपाल २०२२’ नामको प्लास्टिक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले जेठ १२, १३ र १४ गते (तीन दिन) काठमाडाैंको भृकुटीमण्डपमा प्लास्टिक प्रदर्शनीको आयोजना गर्न लागेको हो ।
साे प्रदर्शनी यस किसिमको तेस्रो संस्करणको प्रदर्शनी रहने फाउन्डेसनले जनाएको छ । पहिलो संस्करणको यस्तो प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा आयोजना भएको प्लास्टिकले जनाएको छ ।
तेस्रो प्रदर्शनीमा नेपालका प्रमुख प्लास्टिक उद्योगहरु र छिमेकी मुलुक भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायीहरु र करिब १ लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएकोे फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेसिन उपकरणहरु समेतका विभिन्न १ सय २६ वटा स्टल राखिने छन् ।
प्लास्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ ।
प्लास्ट नेपाल, नेपाली प्लास्टिक उद्यमीहरुको छाता संगठन हो, र हामीले नेपालमा प्लाष्टिकको दिगो वृद्धिका लागि निरन्तर काम गरिरहेका छौं, तातेडले भने ।
नेपाली उत्पादनलाई प्राथमिकता दिने देखि, प्लास्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरुसँग मिलेर काम गरिरहेको छ ।
नेपालमा प्लास्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लास्टिक कजन्य वस्तुहरु उपलव्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा लिइएको तातेडले बताए ।