काठमाडौं । नाडा अटोमोबाइल्स एसाेसिएसनअफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न भएको छ । एसाेसिएसनले शुक्रबार बिहान २ हजार ९ सय ९० मिटरको उचाइमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो ।
कर्णालीको विकट जिल्लामा रहेको मनोरम रारामा नाडाको कार्यसमिति बैंठले आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको नाडाका अध्यक्ष धुव्र थापाले बताए ।
उनका अनुसार प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो ।
‘कर्णाली साँचै सुन्दर छ तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको हो थापाले भने । देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात संजालमा रारालाई छिट्टै जोड्नुपर्ने उनको भनाइ छ ।
बैठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एसाेसिएसनसँग पनि रारा तालको परिसरमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको थापाले जानकारी दिए ।
सो अन्तरक्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एसाेसिएसनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन र अन्तर प्रदेश सम्बन्धलगायतका विषयमा आफ्नो धारणा राखेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफूहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी गराए ।
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानिय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने धारणा राखे ।
साथै नाडाले नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा समेत शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा लुम्बिनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको नाडाले जनाएको छ ।
नाडाले आफनो सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्दै आइरहेका पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो ।