काठमाडौं । सार्वजनिक निजी साझेदारीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको समय ६ महिना थप भएको छ । आयोजनाबाट आउँदो पुससम्म बिजुली उत्पादन हुने विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ ।
हालसम्म आयोजनाको ८७ प्रतिशत काम सकिएको छ । अब १३ प्रतिशत काम सक्न बाँकी रहेको कम्पनीले जनाएको छ । समय थप भएकाले आउँदो असार ११ गतेदेखि बिजुली उत्पादन गर्ने लिएको लक्ष्य प्रभावित भएको छ । यसअघि आउँदो असारभित्र आयोजनाबाट बिजुली उत्पादन गर्ने कार्ययोजना सार्वजनिक गरिएको थियो ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार काम नसकिएपछि ६ महिना समय थप गरी संशोधित तालिका सार्वजनिक गरेको रसुवागढीले जनाएको छ । आयोजनाको काम ८७ प्रतिशत सकिएको छ ।
आयोजनाको समय थप भएपछि लागत बढेर ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ । यसअघि निर्माण अवधिको ब्याज बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधारमानी आयोजना निर्माण सुरु भएको थियो । आयोजनाको लागत ३ अर्ब ३३ करोड रुपैयाँ बढेको छ ।
विनासकारी भूकम्प, नाकावन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको समय थप भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०७२ वैशाखमा गएको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, बाढीका साथै कोरोना महामारीको पहिलो र दोस्रो लहर तथा डलरको मूल्य बढेपछि काबुबाहिरको अवस्थाका कारण लागत बढेको आयोजनाले जनाएको छ ।
यसअघि नेपाल विद्युत प्राधिकरणसँग बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गर्दा निर्माण अवधिको ब्याजबाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँलाई आधार मानेर कर्मचारी सञ्चय कोषबाट ऋण लगानी र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिएको थियो । २०७८ असारमा सकिने अनुमानका आधारमा यो लगात रकम थप हुने भएको हो ।
सञ्चय कोषले आयोजनासँग ९.७५ प्रतिशत ब्याज लिँदै आएको छ । प्रत्येक ३ महिनामा ब्याज साँवामा पुँजीकरण हुँदै आएको कम्पनीले जनाएको छ ।
२०७८ असारमा बिजुली उत्पादनको लक्ष्य तय भएको थियो । विभिन्न कारणले गर्दा एक वर्ष ढिला हुन गएको कम्पनीले जानकारी गराएको हो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ ।
बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावरले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ । कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।
सन् २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका ३ वटा फ्रान्सिस टर्वाइनसहित सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) रहेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ)निष्कासन गर्न बाँकी छ । आयोजना नेपाल चीन सीमानजिक रसुवागढीमा पर्छ ।