काठमाडौं । नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्यांकअनुसार अप्रिलमा ५८ हजार ३ सय ८४ जना पर्यटकहरु नेपाल भित्रिए । यो संख्या कोभिडपछिकै सबैभन्दा बढी हो । पर्यटकको संख्यालाई लिएर पर्यटन व्यवसायीहरु उत्साहितसमेत भए । तर, जुन उत्साह सबै होटल व्यवसायीमा पर्न सकेनन् ।
अर्थात् पछिल्लो समय होटल क्षेत्रमा देखिएको प्राइसवारको मारमा व्यवसायीहरु परेका छन् । पर्यटकको संख्या बढे पनि विशेष गरेर ठूला पुराना होटल तथा मझौला होटलहरुले पनि सोचेअनुसारको ग्राहकहरु पाउन सकेका छैनन् । नेपालमा पर्यटकको संख्या बढ्यो तर, हामीले ग्राहक पाएका छैनौं, एक होटल व्यवसायीले भने ।
विशेष गरेर मझौला तथा स्टार होटलका व्यवसायीहरु सबैभन्दा बढी प्राइसवारको मारमा परेका हुन् । पछिल्लो समय काठमाडौंमा सञ्चालनमा आएका पाँचतारे होटल तथा स्टार होटलहरुले सस्तो मूल्यमा कोठाहरु दिन थालेपछि पर्यटकहरुको रोजाई त्यसतर्फ मोडिएको हो । ग्राहकको नजरबाट हेर्दा उसले सस्तो मूल्यमा सुविधासम्पन्न र नयाँ होटलमा बस्न पाए पनि पुराना र मझौला व्यवसायीहरु भने नराम्रोसँग मारमा परेको एक व्यवसायीको गुनासो छ ।
कोभिडपछि तंग्रिदै गएको पर्यटन क्षेत्रमा होटल व्यवसायीहरुको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नका लागि व्यवसायीहरुबीच पटक–पटक छलफल र अन्तरक्रियाहरु पनि नभएका भने होइनन् । छलफलमा प्राइसवार नगर्ने सहमति गरे पनि व्यवहारमा लागू नभएको होटल एसोसिएसन अफ नेपालका एक पदाधिकारीले जानकारी दिए ।
‘संघमा यस विषयमा धेरै पटक छलफल भएको छ, ती पदाधिकारीले भने, हलभित्र सहमति हुन्छ, तर, होटलमा कार्यान्वयन हुँदैन ।’ काठमाडौं भित्रका नाम चलेका तारे होटलहरुले नै ६० डलरसम्ममा कोठा दिन थालेको कारण पुराना तारे होटलहरु समस्यामा पर्दै आएका छन् । योसँगै मझौला र तारे होटलहरु पनि तीन, चार र पाँच तारे होटलमा उही मूल्यमा कोठा पाउने भएपछि तीनैमा जान लागेको व्यवसायीहरुको गुनासो छ ।
कोभिडले थला परेको व्यवसायीहरु अवस्था सामान्य भएपछि उत्साह भए पनि अस्वस्थ्य प्रतिस्पर्धाले व्यवसायनै संकटमा पर्न थालेको ती व्यवसायीहरुको गुनासो छ । ‘कसैले भन्ने र उजुरी हाल्ने ठाउँनै नभएपछि हामी समस्यामा परेका छौं, ती व्यवसायीले भने, हामी तंग्रिननै सकेका छैनौं ।’ थप लगानी गरेर नयाँ बनाउनका लागि बैंकले पैसा पनि नदिने र पर्यटकहरु पनि नआउने समस्यामा परेको ती व्यवसायीको भनाइ छ ।
नयाँ होटलको सञ्चालन खर्च पुरानोको भन्दा ५० प्रतिशत नै कम हुने भएकोले पनि सस्तोमा कोठा दिँदै आएको व्यवसायीहरुको भनाइ छ । ‘तत्कालका लागि उनीहरुलाई सहज भए पनि दीर्घकालीन रुपमा भने सबैलाई समस्या पर्ने हो, एक व्यवसायीले भने, यसलाई बेलैमा नसोचे सबैको हालत पातलो हुन्छ ।’
हुन त यो प्राइसवारको समस्या काठमाडौंभित्र मात्र होइन, उपत्यका बाहिरका होटल व्यवसायीमा पनि पर्दै गएको छ । विशेष गरेर पोखरा र सौराहा क्षेत्रमा रहेका होटलहरुमा पनि प्राइसवारको समस्या पर्न थालेको छ ।
पछिल्लो समय काठमाडौंको ठमेल र गौसाला क्षेत्रमा भने पर्यटकहरुको चहलपहल बढेको छ । विशेष गरेर भारतमा गर्मी बढ्दै गएको र त्यही गर्मी छल्नका लागि नेपाल आउनेको संख्या बढ्न थालेको व्यवसायीहरुको भनाइ छ ।