काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी यो साताबाट फेरि बन्द हुने भएको छ । अस्थायी पुनर्निर्माण पछि गत वैशाख ११ गते काठमाडौं आइपुगेको पानी बर्खा लागेसँगै फेरि बन्द हुन लागेको हो ।
मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन ईन्जिनियर (सिडीई) पदम कुँवरका अनुसार अस्थायी संरचना तयार गरेर काठमाडौं ल्याइएको मेलम्चीको पानी बन्द गर्ने विषयमा छलफल सुरु भएको छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै सिडीई कुँवर भन्छन्, ‘यो वर्ष मौसम केही समय छिटो सुरु हुने भनिएकाले अब बन्द गर्नुपर्छ भरेर छलफल हुँदैछ, १० गतेसम्म बन्द हुनसक्छ ।’
मेलम्ची खोलामा बाढी आउनु पहिला नै खानेपानी आयोजनाको सुरुङ बन्द गर्नुको विकल्प नरहेको आयोजनाले जनाएको छ । धमिलो पानी आएपछि सुरुङमा हाल्दा प्राविधिक रुपमा उपयुत्त नहुने भएपछि अस्थायी संरचना तयार गरेर पानी ल्याएको १ महिना मै बन्द गर्न लागिएको हो ।
वैशाख ११ गते दोस्रो पटक काठमाडौंमा वितरण भएको मेलम्चीको पानी हाल १ लाख ७५ हजार वटा धाराबाट सर्वसाधरणको घर–घरमा पुगेको छ । १७ करोड लिटर मेलम्ची खोलाको र केयूकेएले साविकमा वितरण गर्दै आएको १० करोड लिटर गरेर गरेर अहिले २७ करोड लिटर पानी उपत्यकामा वितरण हुँदै आएको छ ।
गत वर्ष मेलम्चीको पानी काठमाडौं आउँदा १ लाख ६० हजार धाराबाट मात्रै पानी वितरण भएको थियो भने यस वर्ष १५ हजार धारा बढेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । त्यस्तै गत वर्ष ९ वटा पोखरीबाट पानी पठाएकोमा यस वर्ष एउटा पोखरि थपिएर १० पोखरीबाट पानी पठाएपछि १५ हजार बढी धारामा पानी पुगेको हो ।
यस अघि २०७७ चैतमा पहिलोपटक काठमाडौं आएको मेलम्चीको पानीमा २०७८ असार र साउनमा मेलम्ची खोलामा गएको बाढीले आयोजना स्थल र सुरुङमा क्षति गरेपछि बन्द भएको थियो । गत माघबाट अस्थायी पुनर्निमाण सुरु भएको मेलम्चीको पानी चैत अन्तिममा सुरुमा हालेर वैशाखमा वितरण भएको थियो । तर, उपत्यका बासीले १ महिना पछि फेरि मेलम्चीको पानी प्रयोग गर्न नपाउने भएका हुन् ।
असोज पछि पनि खोलामा धमिलो पानी आउन छोडे पछि मात्रै मेलम्चीको पानी काठमाडौं आउने जनाएको छ ।