काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सिद्धार्थ इन्टरनेसनलको निर्माण सम्पन्न गरेको छ । कटेज रेष्टुराँ, तीनतारे र चारतारे स्तरको होटलको सञ्जाल गरिरहेको सिद्धार्थ ग्रुपको यो पहिलो पाँचतारे होटल हो ।
एक वर्षअघि नै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अगाडि बढाएको भए पनि कोभिडका कारणपछि धकेलिएको सो होटल आउँदो दसैंदेखि सञ्चालनमा ल्याउन लागिएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए । नयाँ आर्थिक वर्षको पहिलो पर्यटकीय सिजनलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ ।
निर्माणको समय अवधि लम्बिँदै जाँदा होटलको विस्तारसमेत सहयोग पुगेको उनले बताए । सुरुमा पाँचतारे होटल मात्र बनाउने सोचका साथ अघि बढे पनि केही पृथक सेवा दिने उद्देश्यले डिलक्सको सुविधा थप गरिएको बताए ।
‘जुन बेला काम गर्नुपर्ने बेलामा समस्या भएपछि सोचअनुसारको काम हुन सकेन, जसको कारण समय लम्बिदै गयो, प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने, अब आउने पर्यटकीय सिजनलाई लक्षित गरेर आउँदो दसैंदेखि सञ्चालनमा ल्याउने हो, त्यसका लागि डेट सार्वजनिक छिट्टै हुनेछ ।’
डिलक्समा परिणत गरेसँगै होटलले जग्गासमेत बढाएको छ । सुरुमा ढेड बिगा क्षेत्रफलमा निर्माण गरिए पनि पछि थप गरेर ४ बिगामा निर्माण गरिएको छ । होटलमा पहिलो चरणमा ८५ वटा कोठा तयार भएका छन् भने दोस्रो चरणमा १०० वटा कोठा थप हुने छन् । त्यसका लागि आवश्यक सबै प्रक्रिया र पूर्वधारहरु निर्माण भइसकेको जनाएको छ ।
सुरुवाती मूल्य करिब १ अर्ब २५ करोड रुपैयाँ तय गरिएको भए पनि पछि संरचना थप गर्दै जाँदा २ अर्ब ५० करोडको हाराहारीमा लगानी भइसकेको उनले बताए ।
यहाँ नेपालमा रहेका होटलमध्यकै सबैभन्दा ठूलो कन्फ्रेन्स हल निर्माण गरिएको छ । सुरुमा ८ देखि १० हजार स्क्वायर फिटको कन्फ्रेन्स हल निर्माणका लागि तयारी गरे पनि अहिले त्यसलाई बढाएर १७ हजार स्क्वायर फिटको हल निर्माण गरेको जनाएको छ ।
कोठाको मूल्य न्यूनतम ८ हजार
सिद्धार्थ इन्टरनेसनल होटलमा डिलक्स पाँचतारेका लागि आवश्यक सम्पूर्ण पूर्वधारहरु निर्माण भएका छन् । स्वदेशी, विदेशी एवं कर्पोरेट हाउसलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको सो होटलको एउटा कोठाको एक रातका लागि न्यूनतम ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । ‘यो मूल्यमा केही तल माथि हुन सक्छ, प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने, ‘तर, हामी प्राइसवारको पक्षमा छैनौं,सुविधा अनुसारको पैसा लिन्छौं।’
होटलभित्रै क्यासिनो पनि सञ्चालन हुनेछ । त्यो पनि लक्जरियस नै हुने जनाएको छ । २० हजार स्क्वायर फिटको क्यासिनोको निर्माण कार्य भइरहेको छ । क्यासिनो भने नेपाली कम्पनीलाई नै व्यवस्थापनको जिम्मेवारी दिने तयारी आफूहरुको रहेको बताए ।
त्यो बाहेक होटलको १२ औं तलामा लक्जरियस रेष्टुराँसमेत निर्माण भइरहेको छ । तराईबाट हिमाल हेर्न चाहनेहरुलाई लक्षित गरी निर्माण गरिँदै आएको सो रेष्टुराँबाट माछापुच्छ्रे हिमालको दृश्यावलोकनसमेत गर्न सकिने बताइएको छ ।