काठमाडौं । ३४ कम्पनीलाई मर्जमा जानुपर्ने बाध्यता देखिएको छ । बिमा समितिले बिमा कम्पनीलाई पुँजी वृद्धि योजना ‘क्यापिटल प्लान’ तयार पार्न निर्देशन दिएसँगै ३४ कम्पनीलाई मर्जमा जानुपर्ने बाध्यता देखिएको हो ।
बिमा समितिले जीवन बिमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बिमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको हो । समितिले तोके अनुसार एक जीवन र एक निर्जीवन बिमा कम्पनीसँग मात्र पर्याप्त पुँजी छ । नेपाल लाइफ इन्स्योरेन्सको पुँजी ८ अर्ब र शिखर इन्स्योरेन्सको पुँजी २ अर्ब २८ करोड रहेको छ ।
निर्जीवनतर्फ नेको र आईएमई जनरल र जीवन तर्फ नेसनल लाइफ इन्स्योरेन्सको पुँजी पुग्न लागेको देखिन्छ । चुक्ता पुँजी पुग्ननजिक रहेका कम्पनीलाई मात्र थप पुँजी वृद्धिका लागि हकप्रद निष्कासन गर्न दिइने बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘चुक्ता पुँजी पुग्न लागेका कम्पनी कम्पनीलाई पुँजी पुर्याउन हकप्रद जारी गर्न दिन्छौं । उनले भने, ‘एक वर्षमा पुँजी बढाउनु पर्नेछ जुन कम्पनीको पुँजी पुग्न लागेको देखिन्छ त्यस्ता कम्पनीलाई मात्र हकप्रद जारी गर्न दिन्छौं, बाँकी त मर्जमा जानको लागि पाटर्नर खोजीरहेका होलान् ।’
समितिले तोकेको सीमाअनुसार पुँजी पुग्ननजिक रहेका कम्पनी निर्जीवन तर्फ नेको र आईएमई जनरल र जीवनतर्फ नेसनल लाइफ इन्स्योरेन्स मात्र छन् । नेकोको चुक्ता पुँजी १ अर्ब ७४ करोड ९८ लाख, आईएमई जनरलको १ अर्ब ७३ करोड पुँजी रहेको छ । नेकोले पुँजी पुर्याउन ७५ करोड पुँजी थप्नुपर्ने देखिन्छ भने आईएमई जनरलले ७६ करोड पुँजी बढाउनुपर्ने हुन्छ ।
साथै जीवनतर्फ नेसनल लाइफ इन्स्योरेन्सको पुँजी ४ अर्ब ३ करोड छ । नेसनल लाइफ इन्स्योरेन्सलाई पुँजी पुर्याउन ९८ करोड पुँजी जुटाउनुपर्नेछ । समितिले यी कम्पनीलाई पुँजी पुर्याउन हकप्रद जारी गर्न दिने देखिन्छ भने बाँकी ३४ कम्पनीले मर्जमा जानुपर्ने अवस्था रहेको छ । नेको इन्स्योरेन्सको पहिलो प्राथमिकता मर्ज नै रहेको कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद धिताले बताए ।
‘हाम्रो पहिलो प्राथमिकता मर्जरमा जाने हो । उनले भने, उपयुक्त पाटर्नर पाएनौ भने बोनस सेयर वितरण र थप हकप्रद जारी गरी पुँजी पुर्याउने योजना छ ।’
पाँच कम्पनीले पाए सैद्दान्तिक सहमति
बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जमा जानको लागि सैद्दान्तिक अनुमति दिएको छ । बिमा कम्पनीले जीवन बिमातर्फ गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ इन्स्योरेन्सलाई मर्जरमा जान सैद्दान्तिम सहमति दिएको हो । साथै निर्जीवनतर्फ एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्सले सैद्दान्तिक सहमति पाएको बिमा समितिले जनाएको छ ।
बिमा समितिले ‘बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम निर्जीवनतर्फ एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स र जीवन फर्त प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्न र गाभिन सैद्दान्तिक सहमति दिएको हो ।
अन्य कुन–कुनले थाले मर्जको तयारी
अन्य सात कम्पनीले मर्जको तयारी थालेका छन् । हाल प्रिमियर इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स एक आपसमा गाभ्न र गाभिन तथा प्राप्तिको तयारी थालेका छन् । त्यस्तै, युनाइटेड इन्स्योरेन्स, एनएलजी भने साधारणसभाबाट मर्जको निर्णय पारित गरी मर्जमा जाने जनाएको छ ।
यता नेको, नेपाल इन्स्योरेन्स र आईएमई जनरलले पनि मर्जको लागि आन्तरिक तयारी गरेको बताइरहेका छन् । महालक्ष्मी लाइफ र आईएमई लाइफ इन्स्योरेन्सले पनि साधारणसभाबाट मर्ज प्रस्ताव पारित गरी मर्जमा जाने भएका छन् । केही बिमा कम्पनीले भने मर्जको आन्तरिक तयारीमा जुटेको देखिन्छ ।