काठमाडौं । निर्जीवन बिमा कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणका अनुसार निर्जीवन बिमा कम्पनीको गत वर्षको तुलनामा खुद नाफा औषतमा ३ प्रतिशतले बढेको छ ।
चालू आवको चैत मसान्तसम्ममा १९ निर्जीवन बिमा कम्पनीले ३ अर्ब ५८ करोड खुद नाफा गरेका छन् । हाल संचालनमा रहेका २० निर्जीवन बिमा कम्पनीमध्ये नेसनल इन्स्योरेन्सले वित्तीय विवरण सार्वजनिक गरेको छैन् । सो नाफा भने १९ बिमा कम्पनीको हो ।
गत वर्ष यसै अवधिमा निर्जीवन बिमा कम्पनीले ३ अर्ब ४५ करोड खुद नाफा गरेका थिए । गत वर्षको तुलनामा निर्जीवन बिमा कम्पनीको १३ करोड खुद नाफा बढेको छ ।
गत वर्ष यसैअवधिको तुलनामा चालू आवको तेस्रो त्रैमाससम्म ७ निर्जीवन बिमा कम्पनीको खुद नाफा घटेको छ भने अन्य १२ कम्पनीको नाफा बढेको छ ।
खुद नाफा गिरावट आएका कम्पनी
एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल, नेको इन्स्योरेन्स, आईएमई जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको नाफा घटेको हो ।
कुन कम्पनीको नाफा कति ?
लुम्बिनी जनरल इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमाससम्ममा ९ करोड ५५ लाख खुद नाफा गरेको छ । यस्तै, एनएलजी इन्स्योरेन्सको १७ करोड ७ लाख, आईएमई जनरल इन्स्योरेन्सको १६ करोड ८१ लाख, एभरेष्ट इन्स्योरेन्सको १० करोड ९४ लाख, प्रिमियर इन्स्योरेन्सको २५ करोड ४२ लाख र प्रुडिन्सियल इन्स्योरेन्सको ११ करोड ३६ लाख खुद नाफा गरेका छ ।
सिद्धार्थ इन्स्योरेन्सको १७ करोड ३४ लाख, सगरमाथा इन्स्योरेन्सको २८ करोड ७१ लाख, प्रभु इन्स्योरेन्सको १६ करोड २० लाख, लुम्बिनी जनरलको ९ करोड ५५ लाख, अजोडको ९ करोड ४१ लाख, नेपालको १७ करोड ९४ लाख, युनाइटेडको १० करोड २३ लाख, जनरल इन्स्योरेन्सको ८ करोड २४ लाख, ओरियन्टल इन्स्योरेन्सको ३२ करोड ६४ लाख र राष्ट्रिय बीमा कम्पनीको ३४ करोड २६ लाख खुद नाफा रहेको छ ।
त्यस्तै, सानिमा जनरल इनस्योरेन्सले १० करोड ५० लाख १८ हजार, शिखर इन्स्योरेन्सले ३६ करोड ७० लाख सगरमाथा इन्स्योरेन्सले २८ करोड ७१ लाख रूपैयाँ नाफा गरेको छ ।