हुन त फेरि छिमेकी मुलुक भारत र चीनमा कोभिड संक्रमितहरूको संख्या बढ्न थालिसकेको छ । दुई छिमेकी मुलुकमा फैलिएको कोभिडले नेपाल अछुतो रहला भन्न सकिँदैन । यद्यपि, मार्च महिनाको तथ्यांकलाई आधार मान्ने हो भने पर्यटन क्षेत्रमा सुधारका संकेतहरू देखिन थालेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मे महिनामा कोभिडपछिकै सबैभन्दा बढी पर्यटक ५८ हजार ३ सय ८४ जना नेपाल आए । मार्चमा ४२ हजार ६ जना विदेशी पर्यटक नेपालमा आएका थिए ।
नेपालमा मात्र हैन, विश्वका अन्य पर्यटकीय मुलुकमा पनि पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको छ । मार्चमै माल्दिभ्समा १ लाख ५० हजारभन्दा बढी पर्यटकहरू गएका छन् भने श्रीलंकामा आर्थिक संकट चरम हुँदा पनि १ लाखभन्दा बढी गएको देखिन्छ । पछिल्लो समय कोभिडविरुद्धको खोप अभियान तीव्र गतिमा भएको र धेरैले बुस्टर डोजसमेत लगाइसकेकाले पर्यटकहरूका लागि सहज गन्तव्यका रुपमा नेपाल पर्न थालेको भन्दै पर्यटन व्यवसायीहरू उत्साहित हुन थालेका छन् ।
कोभिडपछि विश्वभरिनै पर्यटकहरूको संख्या शून्यमा झरेको थियो । तर, अहिले विस्तारै सबै मुलुकमा कोभिडको संक्रमण न्यून भएको खोपको मात्रा पूरा हुँदै गएपछि पर्यटन क्षेत्र तंग्रिदै गएको छ । यस्तो बेलामा सबैले प्राथमिकतामा राख्ने भनेकै पर्यटन नै हो । ती मुलुकहरूले आफ्नो ठाउँमा कसरी धेरैभन्दा धेरै पर्यटकहरू ल्याउने र कस्ता प्याकेजहरू दिएर आकर्षण गराउने भन्ने रणनीतिहरू बनाइसकेका छन् ।
नेपालमा भने राजनीतिक खिचातानी र कर्मचारी तन्त्रको ढिला सुस्तीले हालसम्म कुनै योजनाहरू सार्वजनिक गर्न सकिरहेको छैन । विशेष गरेर यस्तो बेलामा पर्यटकहरूलाई नेपालमा कसरी धेरैभन्दा धेरै ल्याउनका लागि सरकार र निजी क्षेत्रले कस्तो भूमिका खेल्ने भन्ने विषयमा गहन छलफल र बहस हुनुपर्ने हो । त्यसका लागि सहजीकरण गरिदिने नेपाल पर्यटन बोर्ड आफैं विवादमा फसिरहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि यस विषयमा कुनै ठोस धारणा ल्याउन सकेको छैन । पर्यटनमन्त्री प्रेम आले र पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीबीचको लडाइँका कारण अहिले बोर्डको गतिविधिनै सुस्त छ । राजनीतिक हस्तक्षेपको कारण पर्यटन बोर्डको सञ्चालक समिति पनि विवादमा पर्दै आएको छ । बोर्डका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृत रेग्मीबीचको विवाद पनि सतहमा नै छ ।
अहिले बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मी अदालतको अल्पकालीन अन्तरिम आदेशको भरमा कार्यालय सञ्चालन गर्दै आएका छन् । जसको कारण कोमामा पुगेको पर्यटन क्षेत्रले पुनर्जीवन पाउनका लागि आवश्यक नीति नियमहरू बनाउनका लागि सहजीकरण गरिदिने विषय दूर बनेको छ । यसरी लामो समयसम्म विवादमा राखेर बोर्डलाई चलायमान हुनबाट रोक्नु गम्भीर गल्ती भएकाले तत्कालै समस्या समाधान गर्नुपर्ने व्यवसायीहरूको जोड छ ।
यति मात्र हैन, कुनै समय नेपालमा आउने ८० प्रतिशत विदेशी पर्यटकहरू बोक्ने नेपाल वायुसेवा निगम अहिले २ प्रतिशतमा सीमित भएको छ । उसले बाँकी ९८ प्रतिशत नेपाली श्रमिकहरू मात्र बोक्दै आएको छ । निगममा पनि राजनीतिक हस्तक्षेप प्रत्यक्ष रुपमा देखिँदै आएको छ । पर्यटन मन्त्री फेरिएसँगै फेरिने कार्यकारी अध्यक्ष र महाप्रबन्धकको कारण निगम पनि सुस्त हुँदै गएको छ ।
सरकारी स्वामित्वमा रहेको निगमले ४ वटा जहाजमार्फत सीमित गन्तव्यमा उडान गर्दै आएको छ । जसको कारण अन्य विदेशी एयरलाइन्सहरूको दबदबा नेपालमा परिरहेको छ र हवाई भाडा पनि अत्याधिक महँगो हुँदै गएको छ । नेपालमा आउने विदेशी पर्यटकहरूको ६० प्रतिशत रकम भाडामा नै खर्च हुँदै गएको छ ।
विदेशी एयरलाइन्सको दबदबा बढ्दा हवाई भाडा मात्र महँगो भएको छैन, भाडामार्फत पर्यटकले खर्च गर्ने डलर समेत उतै गएको छ । यस विषयमा पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयले गम्भीर समीक्षा गर्न आवश्यक रहेको देखिन्छ ।
विगत ३ वर्षभन्दा बढी समयदेखि थला परेको पर्यटन क्षेत्रमा विस्तारै सकारात्मक पाइलाहरू सुरु हुन थालेको पर्यटन व्यवसायी सुमन पाण्डे बताउँछन् । अहिलेको तथ्यांक हेर्दा आगामी अक्टोबरदेखि पूर्ण रुपमा रिबाउन्स हुने संकेतको रुपमा लिन सकिने उनको भनाइ छ । पर्यटकहरूको संख्या बढ्दै गएमा पछिल्लो समय देखिएको डलर अभावलाई समेत पूर्ति हुने विश्वास पाण्डेको छ ।
होटल एसोसिएन अफ नेपाल(हान)का प्रथम उपाध्यक्ष विनायक शाहले पर्यटकहरू आउन थालेको बेला सरकारले एक्कासि आयातमा रोक लगाउँदा नकारात्मक प्रभाव पर्ने बताए । पर्यटकहरूको संख्या बढेर उत्साहित भएका व्यवसायीहरूमा सरकारले आयातमा लगाएको रोकले व्यवसायमा ब्रेक लाग्न थालेको उनको भनाइ छ ।
पर्यटकहरूका लागि आवश्यक अधिकांश वस्तुहरू विदेशबाट आयात गर्ने भएकाले संकटको नाममा एक्कासि आयात बन्द गराउदा विदेशी मदिराहरू अभाव हुन थालेको बताए । ’१०० डलरको सामान आयात भयो भने त्यसलाई तीनदेखि चार दोब्बर समेत बनाउन सक्छ, शाहले भने, अहिलेको संकटमा पर्यटन क्षेत्रले मात्र कमाउन सक्यो भने त्यो पैसा त सरकारलाई नै बुझाउने हो ।‘
नयाँ कार्यक्रमहरू ल्याउन आवश्यक : दीपकराज जोशी, पूर्वसीईओ पर्यटन बोर्ड
मार्च महिनाको तथ्यांकलाई आधार मान्ने हो भने सरकारले केही विषयलाई बढी मात्रामा जोड दिने हो भने अर्को सिजनमा पर्यटकहरू धेरै आउन सक्ने सम्भावना देख्न सकिन्छ । मार्चमै माल्दिभ्समा १ लाख ५० हजारभन्दा बढी पर्यटक गएका छन् भने श्रीलंकामा आर्थिक संकट चरम हुँदा पनि १ लाखभन्दा बढी गएको देखिन्छ । यसरी हेर्दा अब पर्यटकहरू घुम्नका लागि तयार भए भन्ने मानसकिता बनाएर नयाँ कार्यक्रमहरू ल्याउन आवश्यक देखिन्छ ।
प्राकृतिक गन्तव्यका रुपमा नेपाल रहेको यसमा सरकारले मुख्यतय दुईवटा विषयमा ध्यान दिन आवश्यक छ । पहिलो, स्रोतबजार हरूमा नेपाल सुरक्षित छ र सहजता छ भन्ने सन्देश दिन आवश्यक छ । कतिपय मुलुकमा खोपको मात्रा पूरा गरेकाहरूलाई नेपालमा सहजै रुपमा जान सकिन्छ भन्ने सन्देश पुग्न सकिरहेको छैन । यस विषयमा पनि सरकारले विशेष योजनाका साथ काम गर्नुपर्छ ।
दोस्रो: नेपालमा ८० प्रतिशतभन्दा बढी पर्यटकहरू हवाई मार्गबाट आउने भएकाले नयाँ एयरलाइन्स र पुराना एयरलाइन्सहरूलाई फेरि जोडिनका लागि के कस्ता सुविधाहरू दिएर हुन्छ उनीहरूलाई यहाँ आउनका लागि उत्साह जगाउनुपर्छ । नेपाल आउन चाहने अधिकांश पर्यटकहरूको एउटै गुनासो भनेकै हवाई भाडा साह्रै महँगो भयो भन्ने नै छ । त्यसैले धेरैभन्दा धेरै एयरलाइन्सहरू नेपालमा आएमा प्रतिस्पर्धा भएर भाडा सस्तो हुन सक्छ ।
यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बेला आएको छ । भाडा घटाउनका लागि स्रोत बजारहरूमा सयुक्त रुपमा प्रचार–प्रसार गर्नेदेखि सरकारले इन्धनमा सहजीकरण गरिदिने तर्फ सोच्नुपर्छ । यसो भएमा पर्यटकहरू नेपालमा आउनका लागि लालायित हुन्छन् र पर्यटकहरू आएसँगै अहिले देखिएको आर्थिक संकट विस्तारै समधान हुँदै जान्छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीति नियम बनाउनका लागि सरकारी स्तरबाट खासै सहयोग नभएको बताए । विदेशबाट पर्यटकहरूले नेपालमा आउदा ल्याउने पैसाको सिमा बढाउनु पर्ने उनको सुझाव छ । ’अहिले विदेशी पर्यटकहरूले ५ हजार डलर मात्र ल्याउन पाउने प्रावधानलाई हटाउने र भारतबाट क्यासिनो खेल्न आउनेहरूका लागि २ हजार र ५ सयको नोट ल्याउने वातावरण बनाउनुपर्छ ,प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, अर्कोतर्फ बंगलादेशको पैसा(टाका) नेपालमा पनि साट्न सक्ने व्यवस्था गर्नुपर्छ ।‘
पछिल्लो समय बंगलादेश आर्थिक हिसावले सम्पन्न हुँदै गएको र त्यहााबाट बर्सेनि लाखौं मान्छेहरू घुम्न निस्कन थालेकाले उनीहरूलाई नेपालमा आकर्षित गर्नका लागि त्यहाँको पैसा साट्ने व्यवस्था गर्नुपर्ने बताउँदै अहिले उनिहरू नेपाल आउन परेमा त्यहि डलर साटेर आउनुपर्ने बाध्यता छ र त्यहाँको सरकारले धेरै डलर मुलुक बाहीर लैजानका लागि कडाई गरेको अवस्थामा यसलाई सहजीकरण गर्न सके राम्रो लाभ लिन सकिने उनले बताए । यसका लागि राष्ट्र बैंकले विशेष अध्ययन गर्न जरुरी छ ।
बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मार्च र मे महिनाको तथ्यांकलाई आधार मान्ने हो र सरकारले थप केही विषयलाई जोड दिने हो भने अर्को सिजनमा धेरै पर्यटक आउन सक्ने सम्भावना देखिने बताए । मार्चमै माल्दिभ्समा १ लाख ५० हजारभन्दा बढी पर्यटक गएका छन् भने श्रीलंकामा आर्थिक संकट चरम हुँदा पनि १ लाख बढी गएको देखिन्छ । यसरी हेर्दा अब पर्यटकहरू घुम्नका लागि तयार भए भन्ने मानसकिता बनाई नयाँ कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिन्छ,उनले भने ।
नेपाल प्राकृतिक गन्तव्यका लागि तयार रहेको प्रस्ट्याउन सरकारले मुख्यतया दुइटा विषयमा ध्यान दिन आवश्यक छ । पहिलो, स्रोतबजारमा नेपाल सुरक्षित र सहज छ भन्ने सन्देश दिनुपर्ने उनको सुझाव छ । कतिपय मुलुकमा खोपको मात्रा पूरा गरेकाहरू सहजै नेपाल जान सकिन्छ भन्ने सन्देश पुग्न सकिरहेको छैन ।
यस विषयमा सरकारले विशेष योजनाका साथ काम गर्नुपर्छ, उनले भने नेपालमा ८० प्रतिशतभन्दा बढी पर्यटक हवाई मार्गबाट आउने भएकाले नयाँ तथा पुराना एयरलाइन्ससँग जोडिन के–कस्ता सुविधाहरू दिएर हुन्छ उनीहरूलाई यहाँ आउनका लागि उत्साह जगाउनुपर्छ ।
नेपाल आउन चाहने अधिकांश पर्यटकको गुनासो भनेकै हवाई भाडा साह्रै महँगो भयो भन्ने छ । धेरैभन्दा धेरै एयरलाइन्स नेपाल आएमा प्रतिस्पर्धा हुँदा भाडा पनि सस्तो हुन सक्छ । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने बेला आएको छ । यस्तै प्रचार–प्रसार गर्नेदेखि सरकारले इन्धनमा सहजीकरण गरिदिनुपर्छ । यसो भएमा पर्यटकहरू नेपाल आउँछन् र अहिले देखिएको आर्थिक संकट पनि बिस्तारै समाधान हुँदै जान्छ ।