काठमाडौं । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गर्दैछ ।
हाइड्रोपावर कम्पनीले संखुवासभा जिल्ला, चैनपुर नगरपालिका-४ स्थित मच्छेबुङ्ग, बतासे, कोक्सा र पाँचखपन नपा- ८ र ९ (साविकको जलजला गाविस- ३, ४ र ५) स्थित मालबासे, सुनखानी र कोकलेका स्थानियको लागि जेठ १० गतेदेखि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा ५ करोड बराबरको ५ लाख कित्ता सेयर निष्कासन गर्नेछ । आयोजना क्षेत्रका बासिन्दाले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् । आवेदन छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको आईपी निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। कम्पनीले संखुवासभा जिल्लामा बुट (बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र पछि हस्तान्तरण गर्ने) मोडल अन्तर्गत ८.५ मेगावाटको रन-अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ।
हाल आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। १ अर्ब ४० करोड ९० लाख रूपैयाँ लागतको यो आयोजनामा करिब दुई महिना अघिलसम्म एक अर्ब २४ करोड ५० लाख खर्च भइसकेको छ।
कम्पनीलाई उसको दीर्घकालीन ऋणको लागि केयर रेटिङ नेपालले डबल बी रेटिङ दिएको छ। कम्पनीले एक महिना अघि पाएको यो रेटिङले दायित्व भुक्तानीको आधारमा कम्पनीको जोखिम मध्यम रहेको संकेत गर्छ।