काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रुपेन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । व्यावसायिक उडानका लागि तयार भएको सो विमानस्थलको उद्घाटनका लागि प्रधानमन्त्री देउवासहित पर्यटनमन्त्री प्रेम आलेसहितका टिम आइतबारनै भैरहवा पुगेका थिए ।
उद्घाटनको अवसरमा जजिरा एयरले कुवेतबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि भैरहवामा जहाज अवतरण गराएको छ भने नेपाल वायुसेवा निगमको जहाज काठमाडौंबाट भैरहवामा अवतरण गरेको हो ।
सन् २०१७ मै निर्माण सम्पन्न गर्दै २०१८ भित्रै सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण सुरु भएको विमानस्थल ४ वर्ष ढिला गरी सञ्चालनमा आएको हो। विमानस्थल निर्माणको काम २०१५ देखि सुरु भएको थियो। भूकम्प, नाकाबन्दी तथा कोरोना र निर्माण कम्पनीका कारण केही ढिला भएको थियो।
विमानस्थल निर्माणमा ३० अर्ब (जग्गा मुआब्जासहित) खर्च भएको जनाएको छ। विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्टले गरेको हो भने विमानस्थलको भौतिक संरचना निर्माणमा एसियाली विकास बैंकको सहयोग रहेको थियो।
७४ वर्षपछि सञ्चालनमा
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रूपमा सञ्चालन आएको छ।
७४ वर्षको नागरिक उड्डयन क्षेत्रको इतिहासमा यो कोसेढुङ्गा भएको बताए । विमानस्थलको पुरानो १ हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ ।