काठमाडौं । लगातार ४ दिन बढेको सेयर बजार पाँचौ दिन अर्थात् बिहीबार अन्तिम समयमा दोहोरो अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द भएको छ ।
आइतबार २२०४ अंकसम्म झरेको नेप्से सूचक मध्यसमयपछि तीव्र गतिमा बढेको थियो । खासगरी विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीहरुलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएसँगै सेयर बजारमा उछाल आएको थियो ।
बुधबार २३६९ मा रोकिएको नेप्से २३८९ अंकसम्म चढेर २३४३ सम्म झरे पनि बुधबारको तुलनामा बिहीबार १८.६४ अंकले घटेर २३५०.४२ मा कारोबार रोकिएको छ ।
गत साताको बिहीबार २२३८.६२ अंकमा रहेको सूचक यो बिहीबारसम्म आइपुग्दा डेढ सय अंकले बढे पनि त्यसले निरन्तरता पाउन भने सकेन । यस दिनको कारोबार प्रकृतिलाई नियाल्दा लगानीकर्ता नाफा बुक गर्न तल्लीन रहेको देखाउँछ ।
बिहीबारको कारोबार अवधिमा नेप्सेले ४ वटा खोंच र ५ वटा चुचुरो तय गरेको छ । हिमशृंखलाजस्तो आकार बनाएको नेप्सेले आगामी साताको पहिलो कारोबार दिन सुरुमा भने बजार बढ्ने संकेत गरेको छ ।
आगामी साता जेठ ३ गते मंगलबार मात्रै कारोबार खुल्ने छ । जेठदेखि सरकारले सातामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेकाले शुक्रबार पनि कारोबार खुल्नेछ ।
त्यति मात्र होइन शुक्रबार स्थानीय तहको निर्वाचन छ । स्थानीय तहमा स्थायी प्रकृतिको सरकार निर्वाचित हुने भएकाले समग्रतामा सेयर बजारमा पनि त्यसको प्रभाव पर्न सक्छ । तर, कस्तो भन्ने आकंलन गर्न भने कठिन छ ।
बिहीबार बजार घटाउन ऋणपत्र र सामूहिक लगानी कोषबाहेक १ सय ५१ कम्पनीले भूमिका खेले । मर्जरपछि बिहीबार मात्रै कारोबार खुलेको सूर्योदय वोमी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दै कारोबार बन्द भएको छ भने सूर्योदय वोमीलाई पछ्याएको प्राइम लाइम इन्स्योरेन्सको ७.६३ प्रतिशतले मूल्य घटेको छ ।
यस्तै उता घटेको बजारमा पनि ३४ कम्पनीको मूल्य बढेको छ । छैठौं साता पनि जाल्पा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने जाल्पालाई पछ्याएको तेह्रथुम पावरको ६.२ प्रतिशतले मूल्य बढेको छ ।
बिहीबार कारोबार रकममा भने केही सुधार आएको छ ।
साताका सुरुवाती ३ दिन १ अर्बकै वरिपरि कारोबार रहेकामा यस दिन २ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार पनि २ अर्ब १३ करोडको सेयर किनबेच भएको थियो ।
यस दिन सबैभन्दा बढी शिवम् सिमेन्टको ११ करोड १० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।