धुलिखेल । सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र ? मानव स्वास्थ्यलाई हित गर्ने पनि बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हाे । धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो ।
आमन्त्रित अतिथि थिए, सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह ।
यो वर्ष आफ्नो स्थापनाको पच्चीसौ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो । अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तरक्रियाका लागि उनीहरु बाेलाइएका थिए ।
मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको । कार्यक्रममा शर्मा र साहले यसका रहस्यबारे सहभागीसँग आफ्ना अनुभव बाँडेका थिए ।
अस्पतालका प्रमुख डा. रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो । अस्पतालका विभागीय प्रमुखहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहेका थिए ।
अस्पतालकाे काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उनको चासो थियो । पछि उनले खुसी व्यक्त गर्दै भने, 'सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो ।'
डा.माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरूलाई राखेका थिए ।
देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तक्र्रिया गराएको थियो । त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरेका थिए । उनले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेका छन् ।
सफाइ मजदुरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उनले त्यहाँ प्रस्तुत गरे । भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा उनकाे थियाे ।
यस्तै सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गरे । आफ्ना संघर्षका कथा सुनाउँदै उनले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकिन्छ भन्ने आफ्नो धारणा राखे ।
साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गरे । हाल साहनेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ–नयाँ परिकार सिर्जना गरिरहेका छन् ।