काठमाडौं । चैतमा विद्युतीय माध्यमबाट हुने भुक्तानी संख्या र रकम दुवै बढेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार माेबाइल बैंकिङ, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, वालेट र क्यूआर कोडबाट हुने भुक्तानी संख्या र रकम दुवै बढेको हाे ।
विभिन्न १५ शीर्षकमा विद्युतीय माध्यमबाट ६ करोड ३ लाख २१ हजार २२३ पटकको कारोबारमा ५८५ अर्ब ७४ रुपैयाँको कारोबार भएको छ ।
फागुनमा भने सोही १५ शीर्षकमा ५१२ अर्ब ५३ करोडको कारोबार भएको थियो । फागुनको तुलनामा चैतमा ७३ अर्ब २१ करोड रुपैयाँ बढी कारोबार भएको छ ।
नगद कारोबारलाई निरुत्साहित गर्न सरकार, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र अपरेटरदेखि निजी क्षेत्र आक्रामक बन्दै गएपछि विद्युतीय भुक्तानी निरन्तर बढ्दै गएको देखिन्छ ।
कनेक्ट आईपीएसबाट चैतमा ३६ लाख ५ हजार ४३० वटा कारोबारबाट २ खर्ब ९१ अर्ब २९ करोड रुपैयाँको भुक्तानी भएको छ । फागुनमा ३३ लाख ३९ हजार ५ सय ५४ वटा कारोबारबाट २ खर्ब ७३ अर्ब ८५ करोड रुपैयाँ भुक्तानी भएको थियो ।
इन्टरनेट बैंकिङको कारोबार संख्या बढे पनि रकम भने घटेको छ। चैतमा २ लाख ७४ हजार ९४७ वटा कारोबारमा १३ अर्ब ५ करोड ९ लाख रुपैयाँको भुक्तानी भएको छ । फागुनमा भने २ लाख ७३ हजार पटकको कारोबारमा १३ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।
चैतमा भने मोबाइल बैंकिङबाट हुने भुक्तानी बढेको छ । चैतमा मोबाइल बैंकिङ प्रयोग गरी १ करोड ६४ लाख वटा कारोबारबाट १ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी छ।
फागुनमा भने मोबाइल बैंकिङबाट १ करोड ५५ लाख ५९ हजार ९६० वटा कारोबारबाट १ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी, मोबाइल वालेटबाट हुने भुक्तानी संख्या बढेको छ भने कारोबार रकम भने घटेको छ ।
फागनमा वालेटबाट एक करोड ४० लाख ३३ हजार ४९० वटा कारोबारबाट १६ अर्ब ५९ करोड भुक्तानी भएको थियो । चैतमा वालेटबाट एक करोड ४४ लाख ९४ हजार ४९० वटा कारोबारबाट १५ अर्ब ३६ करोड भुक्तानी भएको छ।
पछिल्लो समय निकै रुचाइएको क्यूआर कोडबाट हुने कारोबार संख्या र रकम पनि बढेको राष्ट्र बैंकले जनाएको छ। फागुनमा २३ लाख ७ हजार ९०४ वटा कारोबारमा ७ अर्ब ७६ करोडको कारोबार भएको थियो। चैतमा भने कारोबार संख्या बढेर २७ लाख २३ हजार पुगेको छ। जसबाट फागुनमा ८ अर्ब ४१ करोडको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।