काठमाडौं । निजी क्षेत्रको एयरलाइन्स बुद्ध एयरले रात्रिकालीन उडान सुरु गर्ने भएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आगामी मे १५ देखि रात्रिकालीन उडान विस्तार गर्ने घोषणा गरेको हो ।
रात्रिकालीन उडानमा हालका लागि जनकपुर, नेपालगन्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरा रहेका छन् । उडानकाे समय राति ८ बजेदेखि १२ बजेसम्म रहनेछन् ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ दैनिक १८ घण्टासम्म उडान जारी राख्नेगरी रात्रिकालीन सेवामा जान हवाई कम्पनीहरुलाई निर्देशन गरेको थियो । तर, एकैपटक सेवा विस्तार गर्न नसकिने भन्दै कम्पनीहरुले उक्त निर्णयको विरोध जनाएका थिए । पछि उनीहरुले क्रमशः सेवा समय विस्तार गर्दै लैजाने सहमति गरेका थिए ।
पोखरा विमानस्थलसँग सबै प्रदेशबाट सीधा उडानले जोडिसकेकाे बुद्धले यसको प्रत्यक्ष फाइदा व्यापारिक र विशेषगरि पर्यटकहरुलाई पुगेको बताएको छ ।
हाल बुद्धले भैरहवा विमानस्थललाई पनि सबै प्रदेशबाट जोड्न लागेको जनाएको छ भने भैरहवाबाट पोखरा र भरतपुरको उडान सञ्चालनमा ल्याइसकेको छ ।
कम्पनीका अनुसार यस्तै निकट भविष्यमै भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगन्व र धनगढीमा पनि क्रमशः उडान भर्ने योजना रहेकाे छ ।