काठमाडाैं । पुँजी बजारले लगानीकर्तालाई थोरै भए पनि उत्साहित बनाएको छ ।
बुधबार नेप्से सूचक ५६.०६ अंकले बढेर २३६९.०६ बिन्दुमा आइपुगेको छ । करिब २२ सयको बिन्दुमा आएको नेप्से पछिल्ला केही दिनहरुमा अप ट्रेन्डमा देखिएको छ ।
नेप्से सूचकका साथमा खरिदबिक्री रकममा पनि सुधार देखिएको छ । बैंकहरुले जेठमा पनि ब्याजदर नबढाउने निर्णय गरेपछि बुधबार बजारमा आकर्षक सुधार देखिएको छ । यसअघि आम लगानीकर्ताहरू फेरि ब्याजदर बढ्छ कि भन्ने त्रासमा थिए ।
जेठका लागि निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णयपछि बजारमा उत्साह देखिएको हाे ।
१३ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । लामो समयदेखि बजार निरन्तरजसो घट्दा सेयर भाउ निकै सस्तो भइसकेको अवस्था छ । मूल्य निकै तल आएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबै प्रकारका लगानीकर्ताहरु सेयर खरिदका लागि आकर्षित भइरहेको कतिपय विश्लेषकहरुको अनुमान रहेको छ ।
चुनावी माहोलसँगै बजारमा पैसा आउन थालेको र त्यो पैसा चुनावपछि वित्तीय प्रणालीमा जाने धेरैको विश्लेषण रहेको छ । सोही कारण पनि बजारमा केही दिनयता नयाँ उत्साह देखिएको केहीको भनाइ छ ।
करिब ९ महिनायता बजार डाउन ट्रेन्डमा रहँदा नेप्सेले झन्डै १ हजार अंक गुमायो भने करिब १३ खर्ब रुपैयाँ बजार पुँजीकरण घट्न गयो ।
यी तथ्यांकका आधारमा सेयर भाउमा निकै ह्रास आएको देखिन्छ । पीई रेसियो हेर्दा सेयर भाउहरु निकै सस्तो भइसकेकाे छ । ५२ हप्ताको औसत भाउलाई हेर्दा पनि मूल्य निकै तल आएको देखिन्छ । यसआधारमा भ्याल्यू इन्भेस्टर्स र ट्रेडर दुवैका लागि अहिलेको भाउ निकै आकर्षक मान्न सकिन्छ ।
यस्तै, पुँजी बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञान पनि अति आवश्यक हुन्छ । आम लगानीकर्तामा बजार माथि जान्छ भन्ने विश्वास हुनु जरुरी छ । बजार निकै हदसम्म मनोविज्ञानमा चल्ने गर्छ । यसआधारमा सरकार तथा नियामकले सकारात्मक मनोविज्ञान विकास हुने वातावरण बनाउन जरुरी छ ।
नीतिनियममा सुधार र सेयर शिक्षाका कार्यक्रम सञ्चालन गरी लगानीकर्तालाई बजारका बारेमा सिकाउन सक्नुपर्छ । यसो हुन सकेमा आम लगानीकर्तामा बजारप्रति विश्वास वृद्धि हुन सक्छ । सेयर भाउ निकै तल आइसकेकाले लगानीकर्ताहरुले रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिन सक्ने देखिएको छ ।
यस दिन २२९ कम्पनीको ५३ लाख ३३ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । सबै समूहको सूचकमा हरियाली देखिएको छ । हाइड्रोपावर र फाइनान्स समूह सबैभन्दा बढी वृद्धि भएका छन् ।
१० करोड ५९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी पावर र राधी विद्युत पावर कम्पनी परेका छन् ।