काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ । उत्पादनमूलक उद्योगलाई नीतिगत तवरबाट संरक्षण गर्ने सरकारी सोच बनेको देखिन्छ ।
त्यो एकदमै सकारात्मक सोच हो ।
जबसम्म उद्योगको विकास हुँदैन, देशको अर्थतन्त्रको जग बलियो हुँदैन । सोही कारण सरकारले उद्योग क्षेत्रलाई मजबुत बनाउन चाहेको देखिन्छ । त्यसका लागि सर्वप्रथम भन्सार सुधार्नुपर्ने देखिन्छ ।
अहिले पनि तयारी वस्तु र कच्चा पदार्थको भन्सार समान छ । जसले गर्दा उद्योग लगाउनभन्दा आयात गर्न व्यापारीहरु बढी लालायित छन् ।
अब आउने बजेटले पेन्ट्सको कच्चा पदार्थको भन्सार घटाउनुपर्छ । अहिले तयारी पेन्ट्स र त्यसको कच्चा पदार्थको भन्सार समान ३० प्रतिशत छ । कच्चा पदार्थको भन्सार घटाएर ५ प्रतिशतमा झार्नुपर्छ । यसले नेपालमा पेन्ट्स उद्योग फस्टाउन सहयोग पुग्छ ।
नेपालका रङ उद्योगहरु स्वदेशी माग धान्न सक्ने अवस्थामा छन् । यस्तो अवस्थामा विदेशबाट रङ आयात गर्न जरुरी छैन । मात्रै भन्सार ३० प्रतिशतबाट ५ प्रतिशतमा झारिदिए पुग्छ ।
जुन उद्योगको क्षेत्र आत्मनिर्भर भइसक्यो त्यो उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशतसम्म भन्सार लगाउनु जायज पनि होइन । एक्रेलिक पोलिमर भनेको पानीमा आधारित पेन्ट तयार गर्न आवश्यक कच्चापदार्थ हो । जसको भन्सार सरकारले ५ प्रतिशत गर्यो भने स्वदेशी उद्योगलाई राहत पनि हुन्थ्यो । अर्को कुरा ३० प्रतिशत भन्सार लाग्दा ग्राहक वा उपभोक्तालाई महँगो पर्छ ।
सरकार राजस्वमुखी मात्रै हुनु भएन, उद्योगी र जनतालाई मारमा नपर्ने गरी पनि सोच्नुपर्यो । देशमा रङका मात्रै ५० भन्दा बढी साना÷ठूला तथा घरेलु उद्योग छन् । ती उद्योगले २८ सय जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । यसरी उद्योग चल्दा रोजगारीको अवसर सिर्जना हुनाका साथै अन्य सम्बन्धित उद्योगलाई पनि सहयोग पुग्छ ।
पेन्ट्स उद्योग फस्टाउँदा टिन÷कन्टेनर, ब्याग, प्लास्टिक, बक्सहरु बनाउनेलगायत सबै उद्योग फस्टाउँछन् । उद्योगको पनि विकास हुने हुँदा पेन्ट्स उद्योगलाई फोकस गरी यसको भन्सारलाई सरकारले कम गरिदियो भने उद्योग पनि चल्थ्यो र राजस्व पनि पूरा उठ्थ्यो ।
नेपालमा ४ दशकदेखि रङ उद्योगहरु सञ्चालन भइरहेका छन् । मसँग पनि ३० वर्ष लामो रङ उद्योगको क्षेत्रमा काम गरेको अनुभव छ । मेरो आफ्नै अनुभवको आधारमा पनि रङको आवश्यकता हरेक वस्तुमा आवश्यक छ । रङ लगाएर ५० वर्ष टिक्ने संरचना रङ नलगाउँदा २० वर्ष पनि टिक्दैन ।
भनेपछि हामी आफैंले बुझ्नुपर्छ कि रङ कति आवश्यक वस्तु हो भनेर ।
नेपाली रङका उद्योगहरुले माग मात्रै धान्दैनन् गुणस्तरीय उत्पादन पनि गर्छन् । नेपालमा २० अर्ब रुपैयाँबराबरको रङ–बजार छ, जसका लागि आयात गर्नुपर्ने अवस्था छैन । तर, तत्कालका लागि निर्यात भने गर्न सकिँदैन । कारण, कच्चा पदार्थमा सरकारले लगाएको भन्सार बढी छ ।
३० प्रतिशतसम्म भन्सार तिरी आयात गरिएको कच्चा पदार्थबाट रङ उत्पादन गरेर विदेश निर्यात गर्न सजिलो कसैगरी पनि छैन ।
यस्तै तयारी वस्तुको आयातको तुलनामा कच्चा पदार्थको आयातमा एक तह कम भन्सारशुल्क निर्धारण गर्ने सरकारको सामान्य नीति छ । तर, ह्वाइट सिमेन्टलगायत कतिपय कच्चापदार्थ र प्याकेजिङ सामग्रीहरूको हकमा भने यो नीति पालना गरिएको छैन ।
हाल समान भन्सार तिरेर आयात गर्नु परिरहेको छ । तयारी वस्तु र कच्चा पदार्थलाई एउटै भन्सारमा आयात गराउनु हुँदैन भन्ने हाम्रो माग हो ।
-साख पेन्ट्स उद्योग संघका अध्यक्ष हुन् ।