काठमाडौं । एनआईसी एसिया बैंक शाखा सञ्जाल विस्तार, ग्राहक संख्यामा वृद्धि, डिजिटल बैंकिङ विस्तार, कर्जा, निक्षेपलगायत अधिकतम परिसूचकमा अघि बढिरहेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ रोशनकुमार न्यौपानेले नेतृत्व सम्हालेपछि बैंक यो स्थानसम्म आइपुगेको बैंकले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा बैंकले उत्साहजनक नतिजाहरु हासिल गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरुमा शीर्ष स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरण परिसूचकहरु उत्साहजनक रहेको बैंकले बताएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्याएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ पुर्याएको छ ।
यसैगरी बैंकको स्वपुँजी प्रतिफल २१.४६ प्रतिशत रहेको छ भने बैंकको प्रतिसेयर आम्दानी ४१.९४ रुपैयाँ पुगेको छ । बैंकका अनुसार सबै सूचकांकमा एनआईसी अन्य २७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अगाडि छ ।
यसबाहेक बैंकले त्रैमासमा खुद मुनाफातर्फ ३ अर्ब ६० करोड ४५ रुपैयाँ आर्जन गरेकोे छ । वार्षिक बिन्दुगत आधारमा यो वृद्धि २० प्रतिशतको हो ।
कोभिड–१९ को विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा उत्साहजनक नतिजा हासिल गर्दै निष्कृय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको छ । यी सबै तथ्यांकले बैंक उचाइतर्फको यात्रामा रहेको बताएको छ ।