काठमाडौं । नियामक निकाय धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका कामदारलाई आईपीओको कोटा व्यवस्था गरेको छ ।
म्युचुअल फन्डले कोटा पाएझैं वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा कोटा व्यवस्था गर्न लागिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।
आईपीओ भर्नेको संख्या धेरै र आईपीओ निष्कासन थोरै हुँदा अहिले पटकपटक भर्दा पनि आईपीओ नपर्ने समस्या छ ।
तर, जति परिमाणमा आईपीओ निकाले पनि म्युचुअल फन्डले ५ प्रतिशत पाउँछन् । सोहीअनुसार वैदेशिक रोजगारीमा गएकालाई आईपीओको कोटा दिन बोर्डले पनि कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पठाइसकेको छ ।
बोर्डले वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत कोटा व्यवस्थासहित मन्त्रीपरिषद्मा पठाएको हो ।
आईपीओमा विदेशमा काम गर्न गएकालाई निश्चित कोटा दिनासाथ विदेशबाट आईपीओ भर्न भन्दै ठूलो रकम नेपाल आउने र यसले विदेशी मुद्रा सञ्चितिमा परेको दबाबलाई कम गर्ने बोर्डको अपेक्षा छ ।
विदेशमा झण्डै ५० लाख नेपालीहरु काम गर्छन् । उनीहरुलाई आईपीओमा कोटा दिनासाथ नेपाल भित्रिने रेमिट्यान्स पनि बढ्ने बोर्डको भनाइ छ ।
यसरी उनीहरुलाई सहभागी गराउन सकियो भने घट्दो बजार रोकिएर उकालोतर्फ लाग्ने बोर्डका अध्यक्ष हमाल बताउँछन् ।
बजारमा लगानीयोग्य रकमको चरम अभाव, ब्याजदर वृद्धि, विदेशी मुद्रा सञ्चितिमा परेको दबाबले सेयर बजार निरन्तर घटिरहेको छ ।
एकातिर बजार घट्दा लाखौं लगानीकर्ताको सम्पत्ति गुमिरहेको छ भने अर्कोतिर इकोनोमीको फेस पनि बिग्रिँदै गएको छ । यसलाई केही हदसम्म रोक्न बोर्डले नयाँ जुक्ति लगाएको हो ।
विदेशमा काम गर्न गएका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउनैपर्छ भन्ने बाध्यता छैन । उनीहरुको कमाइ जतासुकै खर्च गर्न सक्छन् । तर, उत्प्रेरणा जगाएर नेपाल पैसा भित्र्याउने रणनीति सरकारले लिन खोजेको हमालको भनाइ छ ।
आईपीओ भर्न उनीहरु पनि लालायित छन् । तर, नपर्ने अवस्थामा उनीहरु थकित भएकाले आईपीओमा कोटा व्यवस्था गर्न लागिएको हो ।
त्यसैगरी, सेयर बजारलाई उचाइमा पुर्याउने उद्देश्यले बोर्डले गैरआवासीय नेपालीहरुलाई दोस्रो बजारमा कारोबार खुलाउने प्रयास पनि चलिरहेको छ । अहिलेसम्म उनीहरुलाई दोस्रो बजारमा पहुँच दिइएको छैन ।
तर, डलर खाता खोल्न र सेकेन्डरी बजारमा खेल्न दिनेबित्तिकै ठूलो रकम विदेशबाट भित्रिने बोर्डको आशा छ ।
एनआरएनहरुलाई सेकेन्डरी बजारमा प्रवेश दिनासथा बजार उचाइतर्फ लाग्छ । बैंकमा डलर खाता खोल्न दिने र त्यसबाट सेकेन्डरी मार्केटमा कारोबार गर्न दिने बोर्डको तयारी छ ।
अहिले बोर्डले राष्ट्र बैंकसँग छलफल अघि बढाएको छ ।
उनीहरुले सेयर बजारबाट जति कमाउँछन्, त्यो रकम उनीहरुलाई विदेश फिर्ता लैजान पनि दिने गरी कानुन निर्माण गरिरहेको बोर्डका अध्यक्ष हमालले जानकारी दिए ।
उनका अनुसार आईपीओको कोटा मन्त्रिपरिषद्ले पास गर्नेबित्तिकै कार्यान्वयनमा आउँछ भने एनआरएनलाई सेकेन्डरी मार्केटमा ल्याउने कानुन यस आर्थिक वर्षभित्र निर्माण गरिसक्ने काम भइरहेको छ ।