काठमाडौं । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएसँगै त्यसको प्रभाव सेयर बजारमा परेको छ । लामो समय संकटमा फसेको आयोगले मंगलबार मात्रै बरुण हाइड्रो पावरलाई १ बराबर १ र ङ्यादी ग्रुप पावरलाई १ बराबर १.५ को अनुपातमा हकप्रद अनुमति दिएपछि सेयर बजारमा जलविद्युत् समूहमा उछाल आएको छ ।
मंगलबार बरुण र ङ्यादीको सेयरमा सकारात्मक सर्किट लाग्दा उच्च १० मूल्य वृद्धि मध्ये ९ वटा जलविद्युत् समूह परेका छन् ।सरकारले नियमन आयोगका अध्यक्ष र सञ्चालकहरुलाई हटाउने प्रयास गर्दा लामो समय जलविद्युत् सेयरमा हकप्रद निश्कासन अनुमति पाउन सकेका थिएनन् । अदालतबाट पुनर्बाहली भएर आएपछि पहिलोपटक मंगलबार हकप्रद अनुमति दिएपछि जलविद्युत् समुहका कम्पनीहरुको हकप्रद पाइने प्रभावमा यसको सेयर उचालिँदा त्यसका्े प्रभाव समग्र बजारमा परेको हो ।
सूचीकृत अधिकांश जलविद्युत कम्पनीले हकप्रद सेयर निकाल्न यस अघि नै आ–आफ्ना साधारणसभाबाट पारित गराइसकेका छन् । आयोगबाट हकप्रद अनुमति पाए पछि मात्रै हकप्रद निश्काषनको अनुमति माग्न सेयर बजारको नियामक धितोपत्र बोर्डमा जाने व्यवस्था छ । बोर्डले अनुमति दिए पछि हकप्रद सेयर गर्ने बाटो खुल्छ ।
यस दिन नेप्से सूचक ४४.१६ अंकले बढेर २३१३ अंकमा आइपुगेको छ । १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला केही दिनहरुमा निरन्तर बजार घट्यो, जुन अस्वभाविक देखिन्थ्यो । सोही कारण अब बजारले सकारात्मक माहोल खडा गर्ने अपेक्षा गरिएको छ । जेठ लागेपछि वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने कतिपयको विश्लेषण रहेको छ । चुनावमा बजारमा आएको पैसा बैंकिङ प्रणालीमा फर्किने धेरैको विश्लेषण रहेको छ ।
यस्तै, अब विकास खर्चले पनि रफ्तार लिनेछ । अहिले सरकारी ढुकुटीमा ठूलो पैसा थन्किएर बसेको छ । पुँजीगत खर्च हुन सकेमा त्यो पैसा बैंकहरुमा जानेछ । यसले पनि तरलता सहज पार्न सहयोग पुग्नेछ । यस्तै, बैंकहरुले आक्रामक कर्जा लगानी घटाएका छन् । यसबाट कर्जा प्रवाहमा दबाब कम हुने संकेत देखिएको छ । यसले तरलता सहज पार्न र सीडी रेसियो व्यवस्थापनमा सहगोग पुग्नेछ ।
तर, यतिबेला आम लगानीकर्ताको मनोबल भने अझै पनि सुधार भइसकेको छैन । बजार साँच्चिकै माथि जान्छ भन्नेमा उनीहरु विश्वस्त हुन सकेका छैनन् । आम लगानीकर्ता बजार बढ्नेमा ढुक्क हुन सकेमा मात्र नयाँ माहोल आउन सक्छ । बजारले आकर्षक कारोबार रकमसहित नयाँ उचाइ बनाउन सक्छ । अहिले नेप्से केही बढिरहेका बेला पनि कारोबार रकम अपेक्षितरुपमा सुधार हुन नसक्नुमा पनि आम लगानीकर्ताको कमजोर मनोविज्ञानलाई नै कारण मानिएको छ ।
यस्तै, पीई रेसियोलाई आधार मानेर हेर्दा पनि मूल्य क्रमशः सस्तो हुँदै आएको छ । यसआधारमा बजारमा अब मूल्यका आधारमा हेर्दा जोखिम नदेखिएको तर अवसर धेरै रहेको विश्लेषकहरु बताउँछन् । आम लगानीकर्ताले लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ ।
कम्पनीहरुको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ, आरओई लगायतका महत्वपूर्ण सूचकहरु अध्ययन गर्नुपर्ने हुन्छ । सेयर भाउहरु निकै तल आएको छ । यसआधारमा लगानीकर्ताहरुले रिस्क–रिवार्ड रेसियोलाई समेत ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।