काठमाडौं । नेपाल एयरलाइन्सका व्यवस्थापकहरुको चरम लापरबाहीका कारण अन्तर्राष्ट्रिय बोर्डिङ पासमा हस्तलिखित दिइएको छ ।
फितलो व्यवस्थापनकै कारण बोर्डिङ पास हस्तलिखित रुपमा दिन थालेपछि अन्तर्राष्ट्रिय रुपमै बेइजत भएको यात्रुहरुले टिप्पणी गर्न थालेका छन् ।
निर्धारित समयमै प्यासेन्जर सर्भिस सिस्टम (पीएसएस) नवीकरण नहुँदा यात्रुहरुलाई हस्तलिखित बोर्डिङ पास दिइएको हो । यसले पुरानै ढर्रामा नेपाल एयरलाइन्स गएको चर्चा सुरु हुन थालेको छ ।
पीएसएसको जिम्मा पाएको सीता कम्पनीको सम्झौता अवधि वैशाखदेखि नै सकिएको थियो । तर, एयरलाइन्सले सम्झौता नवीकरण पनि नगरेको र नयाँलाई ल्याउन पनि ढिलाइ गरेका कारण समस्या उत्पन्न भएको बताइन्छ ।
एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले पीएएसको जिम्मा टर्किस कम्पनी हिटइटलाई दिइसकेको जानकारी दिइन् ।
‘हामीले प्यासेन्जर सर्भिस सिस्टमको जिम्मा हिटइटलाई दिइसकेका छौं’, प्रवक्ता खड्काले भनिन्, ‘उसले सिस्टम माइग्रेट गरिरहेकाले केही समस्या देखिएपछि हस्तलिखित दिएका हौं ।’
यो समस्या केही दिनका लागि मात्र भएको उनको जिकिर छ ।
एउटाबाट अर्को सिस्टम अपग्रेडका लागि केही समय लागेको बताउँदै यो समस्या आजै समधान हुन पनि सक्ने वा थप केही दिन लाग्न पनि सक्ने प्रवक्ता खड्काले बताएकी छिन् ।
‘अन्य प्रतिस्पर्धी एयरलाइन्सहरुले डिजिटल सेवा दिइरहेका बेला नेपाल एयरलाइन्सले हस्तलिखित बोर्डिङ पास दिनु भनेको अन्तर्राष्ट्रिय बेइजत हुनु हो’, एक यात्रुले भने, ‘चुस्त–दुरुस्त काम गर्ने सोच नभएका कर्मचारीहरुको भर्तीकेन्द्र नेपाल एयरलाइन्स बनेकै कारण अहिले यो अवस्थामा पुगेको हो ।’
प्यासेन्जर सर्भिस सिस्टम नवीकरण वा नयाँलाई जिम्मेवारी दिन प्रक्रियासमेत लम्बिएकाले हालको समस्या देखिएको निगमका एक अधिकारीले बताए ।
खासमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कहिले पुरानैको सम्झौता नवीकरण गर्ने त कहिले नयाँलाई जिम्मा दिने भन्ने विषयमा झुल्याएकै कारण ढिलाइ भएको बताइन्छ ।
महाप्रबन्धक डिमप्रकाश पौडेलले सीतालाई नै नवीकरण गर्ने गरी गत असारबाटै प्रक्रिया अघि बढाएका थिए । तर, कार्यकारी अधिकार खोसेर जिम्मेवारविहीन बनाइएपछि यो काम त्यत्तिकै रोकिएको थियो । पछि कार्यकारी अध्यक्षको रुपमा अधिकारी आएपछि यसलाई केही समय थाँती राखेका थिए ।
अध्यक्ष अधिकारीले महाप्रबन्धक पौडेलले सुरु गरेका कुनै पनि काम नगर्ने अडान राख्न थालेपछि समस्या उत्पन्न भएको एक अधिकारीको भनाइ छ ।
प्यासेन्जजर सर्भिस सिस्टमको काममा अध्यक्ष अधिकारीले अनावश्यक दबाब दिँदा सो विभागबाट केही समयअघि मात्र जीवनकुमार भट्टराईले जिम्मेवारी छाडेका थिए ।