काठमाडौं । नबिल बैंकले ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ सुरु गरेको छ ।
बैंकका पूर्वअध्यक्ष स्व. शम्भुप्रसाद पौड्यालको सम्झनामा यसै वर्षबाट बैंकले कर्मचारी परिवारको लागि सो छात्रवृत्ति सुरु गरेको हो ।
कर्मचारीको हित र विकासका लागि काम गर्ने स्व. पौड्यालले लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए ।
यो छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परीक्षाबोर्डको प्लस टु तहमा उत्कृष्ट नतिजा ल्याउने मिहिनेती तथा जेहेन्दार सन्तानहरुका नाम मनोनयन गर्न सक्नेछन् ।
उच्च शिक्षाका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित बैंकले यो कार्यक्रम ल्याएको हो ।
मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानलाई प्रत्येक वर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
पुरस्कारको रकम प्रतिविजेता ५० हजार हुने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७७÷७८ का लागि विभिन्न कर्मचारीहरुका सन्तानलाई उल्लिखित छात्रवृत्ति प्रदान गरेको छ ।
छात्रवृत्ति पाउनेमा कर्मचारी उदयराज खनालकी छोरी उनिका खनाल, सन्देशराज भट्टाराईका छोरा दिपसन भट्टराई र मुरारीप्रसादका अर्यालका छोरा मुकुल रहेका छन् ।
नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्वअध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै जना विजेताहरुलाई छात्रवृत्तिको रकमसहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै अध्यक्ष पौड्यालले स्व.शम्भुप्रसादले बैंकलाई पुर्याएको लामो योगदानको प्रशंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको बताए ।
साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृिद्धी तथा विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।