काठमाडौं । सिद्धबाबा सुरुङमार्गको निर्माणकार्य आगामी मंसिरबाट सुरु हुने भएको छ ।
गत माघमा ‘फाइनान्सिअल ओपनिङ’ भई फागुनमा ठेक्का सम्झौता भएको उक्त सुरुङमार्गको आवश्यक तयारीका लागि ९ महिना समय लाग्ने भएपछि मंसिरबाट मात्रै निर्माणकार्य सुरु हुन भएको हो ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको उक्त सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।
केन्द्रले आह्वान गरेको बोलपत्रमा ४ वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम लागत प्रस्ताव गर्ने चाइना स्टेट कन्स्ट्रक्सन छनोटमा परेको हो ।
सुरुङको लम्बाइ ११ सय २६ मिटर लामो हुने बताइएको छ ।
फागुनमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले आवश्यक तयारी गर्न ९ महिनाको समय छुट्याइएको केन्द्रका निर्देशक कैलाश श्रेष्ठ बताउँछन् । क्यापिटल नेपालसँग कुरा गर्दै उलने भने, ‘डिजाइनका लागि ९ महिनाको समय हो, एपु्रभ भएपछि निर्माणकार्य सुरु हुन्छ । समग्रमा ५ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता हो ।’
ईपीसी मोडेलमा निर्माण गर्न लागिएको सो सुरुङमार्गका लागि आवश्यक पर्ने मेसिन आयात, डिजाइन, पहुँचमार्ग निर्माण, कामदारलगायत सम्पूर्ण कामको जिम्मेवारी निर्माण कम्पनीकै भएको केन्द्रले जनाएको छ ।
फागुनमा ठेक्का प्रक्रियाको काम सकिएकाले हाल सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम प्राथमिकतामा राखी कम्पनीले काम गर्दै आएको छ । साथै निर्माण सामाग्री, मेसिनलगायत अन्य आवश्यक तयारीमा कम्पनी लागेको निर्देशक श्रेष्ठको भनाइ छ ।
उक्त तयारीपछि मात्र औपचारिक रूपमा सिद्धबाबा सुरुङ निर्माणकार्य सुरु हुने बताइएको छ ।
निर्माणकै हिसाबले सिद्धबाबा नेपालमा निर्माण हुन लागेका सुरुङमार्गमध्ये दोस्रो स्थानमा पर्दछ । पहिलो सुरुङमार्ग निर्माणाधीन नागढुंगा हो ।
त्यस्तै निर्माण सकेको ५ वर्षसम्म सञ्चालन र मर्मतको जिम्मा पनि निर्माण कम्पनीले लिनुपर्ने गुणस्तर अनुसन्धान विकास केन्द्रले जनाएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने उक्त स्थानमा पहिरो बढी गएपछि त्यसबाट हुने जनधनको क्षति कम गर्न सुरुङमार्ग निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । पहिरो नियन्त्रणका लागि अन्य विकल्प नभएपछि सुरुङमार्ग निर्माण गर्न लागिएको विभागले जनाएको हो ।
स्वदेशी लगानीमा देशभरि १५ वटा सुरुङमार्ग निर्माण हुने भएका छन् । जसमध्ये असारमा ३ वटाको सम्भाव्यता अध्ययन सम्पन्न हुँदैछ । बाँकी ११ वटा सुरुङमार्ग सम्भाव्यता अध्ययनको चरणमा छन् ।
स्वदेशी लगानीका १५ र विदेशी लगानी तथा अनुदानमा ७ गरी कुल २२ वटा सुरुङमार्ग निर्माण हुने बताइएको छ । यीमध्ये नागढुंगा सुरुङमार्ग निर्माणाधीन अवस्थामा र सिद्धबाबा सुरुङमार्ग आयोजनाको ठेक्का सम्झौता भएको हो ।
दोलखाको लामाबगर सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि ठेक्का सम्झौता भने हुन सकेको छैन ।