काठमाडौं । आइतबार सकारात्मक छनक देखाएको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । तर, त्यो झिनो रुपमा मात्रै प्रकट भएको छ । यद्यपि, कारोबारबीचमा सेयर बजार सूचक नेप्सेमा राम्रो उतारचढाव भने देखिएको छ।
आइतबार २२५६.५७ अंकमा रोकिएको नेप्से सूचक प्रि ओपनिङ कारोबारमै ६ अंकभन्दा बढीले चढेको थियो । केही मिनेटमै २२७० सम्म पुगेको सूचक त्यसपछि भने केही ओरालो लागेर २२५५.४५ अंकसम्म आइपुग्यो ।
कारोबार खुलेको आधा घण्टापछि नै फेरि उकालो लागेको बजार २२८६ सम्म चढ्यो । त्यसपछि भने बजार केही तल झर्यो र सतही रुपमा उक्लिन थालेको बजार कारोबारको तीन घण्टा पूरा हुनु अघि सोमबारको उच्च अंक २२८९.८४ अंकसम्म चढ्यो । तर, वृद्धिले निरन्तरता भने पाउन सकेन र बजार केही झर्यो ।
२ बज्दा २२७७ मा रहेको सूचक २ः२० मा हुँदा नहुँदै २२८६ सम्म पुगे पनि त्यसपछि भने निरन्तर ओरालो लाग्यो र कारोबार सकिँदा आइतबारको तुलनामा १२.२७. अंकले बढेर २२६८.८४ अंकमा रोकियो ।
आइतबारको कारोबार प्रवृत्ति र सोमबारको कारोबार प्रवृत्ति केलाउँदा सूचकले २३०० को अंक छुन निकै मेहेनत गर्नुपर्ने जस्तो देखिन्छ । अन्तिम समयमा झरेको बजार सूचकलाई उचाल्दै कारोबार बन्द भएकाले मंगलबार पनि सूचक सकारात्मक हुने आँकलन गर्न सकिन्छ । तर, कारोबार रकममा खासै बढोत्तरी हुन नसकेकोले अझै बजार पर्ख र हेरको अवस्थामै छ ।
आइतबार १ अर्ब २६ करोड कारोबार भएको नेप्सेमा सोमबार १ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएको देखिन्छ । तर, कारोबार सेटलमेन्टपछि कुल कारोबार रकम फरक पर्न सक्छ ।
सोमबार बजार सूचक बढाउन ११४ कम्पनीले सहयोग गरेका छन् । पाँच सातादेखि निरन्तर सर्किट लाग्र्दै आएको जाल्पा लघुवित्तले सोमबार पनि निरन्तरता दिएको छ ।
जाल्पालाई पच्छ्याएको माहुली लघुवित्तको सेयर मूल्य ७.७७ प्रतिशत बढेको छ । सोमबार ७१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । त्यसमा सबैभन्दा बढी हिमालयन उर्जा विकास कम्पनीको ३.७८ प्रतिशतले घटेको छ ।
उता नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । कुनै पनि कम्पनीले १० करोड रुपैयाँको कारोबार गर्न सकेका छैनन् । टेलिकमको ७ करोड ८५ लाख रुपैयाँको मात्रै सेयर किनबेच भएको छ ।