काठमाडौं । सिभिल सहकारीको रकम अपचलन गरेको आरोपमा जेल चलान भएका इच्छाराज तामाङको सुन्धारामा सञ्चालित सिटीसी मल लिलामीमा रोखको छ । कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना जारी गर्दै सिटीसी मल लिलामीमा राखेको हो ।
कोषको २१ करोड नतिरेपछि मल लिलामीमा राखेको हो । कोषले यसअघि पनि सूचना निकालेर इच्छाराज तामाङको सिभिल सहकारीलाई ऋण तिर्न भनेको थियो ।
४६ करोड ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले प्रहरी हिरासतमा छन । सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा सर्वसाधारणले बचत गरेको पैसा हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।
६ रोपनी क्षेत्रफलमा निर्माण भएको सो मल ८२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको साे मलमा १३२ ओटा सटर रहेको छ । कोषले सबै सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो ।
कोषबाट ऋण लिन सुन्धारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्गफिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा पसलहरु धितो राखिएको थियो ।
मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन । व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रवीणप्रसाद प्रधान र सुमन नन्दन वैद्य छन् । उनको नाममा अहिलेसम्म पौने ६ अर्ब रुपैयाँ बिगो कायम भइसकेको छ ।
कोषले जारी गरेको सूचना अनुसार ३६ औं दिनमा सो बोलपत्र खोलिने उल्लेख छ ।