कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आइरहेका छन् ।
वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरेका छन् । सार्की परिवारका पुर्ख्याैली पेसा छाला जुत्ताको कार्य हो । छाला जुत्ताको कार्यबाट परिवारको खर्च चलाउनै मुस्किल भएपछि उनले साइकल मर्मत पसल चलाएका हुन् ।
साइकलका पाटपुर्जासँगै पन्चर बनाउने, लहर निकाल्ने, तिल्ली राख्ने, गोली, कटौरी राख्ने कार्यसँगै नयाँ टायर ट्युबलगायत राख्ने कार्य उनले गर्छन् । यस कार्यबाट सार्कीले १५ हजारदेखि २० हजार रुपैयाँसम्म कमाइ गर्छन् ।
दातृ निकायले अनुदानमा हावा भर्ने कम्प्रेसर मेसिन उपलब्ध गराएपछि साइकलसँगै उनले मोटरसाइकलको पन्चरसमेत जोड्ने कार्य गर्न थालेका छन् ।
'मेसिन उपलब्ध भएपछि आम्दानी बढेको छु', उनले भने, 'छ जनाको परिवारको खर्च यसबाटै चल्न थालेको छ । पहिला पसलमा थोरै मात्र सामान हुँदा थोरै आम्दानी हुन्थ्यो । मुस्किलले महिनाको ८ हजार आम्दानी थियो ।'
कमाइबाट रकम बचत हुँदै जान थालेपछि पसलमा सामान थपिएपछि आम्दानी बढ्दै गएको उनले बताए । २० हजारबाट सञ्चालन गरेको पसलमा हाल २ लाख जति लगानी गरिएको उनको भनाइ रहेको छ ।
साइकल पसल चलाउनुअघि सार्कीले अरुको खेत अधिँयामा लगाएर परिवारका लागि अन्नको जोहो मिलाउँदै आएका थिए । पसल चल्न थालेपछि यसबाटै घरखर्च चल्न थालेको छ । 'थोरै पुँजीको काम गरेपनि निरन्तर लागिरहे परिवारको खर्च चलाउन अप्ठेरो नहुने रहेछ', उनले भने, 'अरुको भन्दा आफ्नै काम गरे सहज रुपमा जीविका चलाउन सकिँदो रहेछ ।'
हरेन्द्रजस्तै वन समिति बजारमै छाला जुत्ताको कार्य गदैै आएका कसरौलका मन्दिर सार्कीले दैनिक १ हजारदेखि २ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले नयाँ जुत्ता बनाउने, पुराना जुत्ता चप्पल सिउनेलगायतका कार्य गरी आम्दानी गर्दै आएका छन् ।
'छोराले नयाँ जुत्ता बनाउने काम गर्छन्', उनले भने, 'मैले पुराना जुत्ता सिउने र मर्मत गर्ने काम गर्दछु । यसबाटै परिवारको खर्च चल्छ ।'
सार्कीले ५ छोरी र ३ छोराको विवाहको खर्च यसै व्यवसायबाट धानेको बताउँछन् ।