काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक गाडी भित्र्निे क्रम बढ्दो छ । पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि गाडी पारखीहरुका लागि इलेक्ट्रिक गाडी रोजाइमा पर्न थाल्यो । त्यसपछि भने विश्वप्रख्यात ब्रान्डहरु नेपालमा ल्याउने होड चल्न थालेको हो ।
यही क्रममा कोरियाको प्रिमियम लक्जरी एसयूभी गाडी उत्पादन गर्ने कम्पनी ‘साङयोङ’ नेपाली बजारमा इलेक्ट्रिक कारबाट रिबाउन्स गर्ने रणनीतिमा छ ।
साङयोङको नेपालका लागि आधिकारीक विक्रेता आईएमएस ग्रपअन्तर्गतको आईएमएस मोटर्सले इलेक्ट्रिक कार कोरोन्डो अबको ५ महिनाभित्र ल्याएर बिक्री सुरु गर्ने ग्रुपका अध्यक्ष दीपक मलहोत्राले जानकारी दिए ।
पछिल्लो समय ‘साङयोङ’ का गाडीहरु बिक्रीमा केही सुस्त देखिएको आईएमएस मोटर्सले इलेक्ट्रिक गाडी ल्याई आक्रमक रुपमा बजारमा उपस्थिति जनाउन आवश्क रणनीति तय गरेको अध्यक्ष मलहोत्राको भनाइ छ ।
नेपाली बजारलाई सुहाउने गाडी कोरान्डो भएकाले छोटो समयमै लोकप्रिय हुने अपेक्षासमेत लिएको उनले बताए । नेपाली बजारमा सो गाडीको मूल्य ६० देखि ६५ लाखसम्म पर्न सक्ने बताउँदै मूल्य यकिन भने भइनसकेको उनले बताए ।
आईएमएसले भर्खरै मात्र ज्ञानेश्वरमा नयाँ स्वरुमसमेत सञ्चालनमा ल्याएको छ । कोरान्डो आएपछि थप ब्रान्डिङ गर्ने योजना कम्पनीले लिएको छ ।
पछिल्लो समय सकारले अन्य गाडी आयातका लागि प्रतीतपत्र (एलसी) बन्द गरे पनि इलेक्ट्रिक गाडीका हकमा भने खुला गरेको छ । जसकारण इलेक्ट्रिक गाडी भित्र्याउनतर्फ व्यवसायीहरुको ध्यान मोडिएको हो ।
अन्य गाडीको तुलनामा लक्जरीयस र धेरै फिचर्स रहेको सो कोरान्डो गाडीको ब्याट्री एक पटक चार्ज गरेपछि ३३९ किलोमिटरसम्म गुड्ने क्षमता भएको बताइएको छ ।
ब्याट्रीको रेन्ज जोगाउन टप स्पिड १५६ किलोमिटर प्रतिघण्टा सीमित गरिएको छ भने फास्ट चार्जिङको पनि सुविधा छ ।
फास्ट चार्जिङ गर्दा ३३ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने जाडो महिनामा गाडी चिसो हुँदा ब्याट्रीको रेन्ज घट्ने भएकोले हिटर भएको भेरियन्ट पनि उपलब्ध गराएको कम्पनीले उल्लेख गरेको छ ।
रेक्सन र मुसो गाडीको माग बढ्दै
आईएमएस मोर्टसले हाल कोरियन कम्पनीद्वारा उत्पादन गरेको रेक्सन र मुसो मोडलका गाडी बिक्री गर्दै आएको छ । उसले पहिला नै अर्डर लिएर मात्र ती मोडलका गाडीहरु बिक्री गर्दै आएको छ ।
रेक्सनको मूल्य नेपाली बजारमा १ करोड ६५ लाख पर्छ भने मुसो पिक अप गाडीको मूल्य ८५ लाख पर्ने गरेको छ ।
पछिल्लो समय मुसो गाडीको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।