काठमाडौं । अब सेयर टुक्राएर अडलट बनाएर बिक्री गर्न नपाइने भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्स’ ले ब्रोकर कम्पनीलाई अडलट बनाएर सेयर बिक्री नगर्न निर्देशन दिएसँगै सेयर टुक्राएर अडलट बनाएर बिक्री गर्न नपाइने भएको हो ।
नेप्सेले न्यूनतम कारोबार १० कित्ता हुनुपर्ने उल्लेख गर्दै यसअघि नै टुक्रा भइसकेको बाहेकका सेयरहरु १० कित्ताभन्दा कम हुने गरी टुक्राउन नपाउने व्यवस्था लागू गर्न निर्देशन दिएको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम (५) को उपविनियम एकमा कारोबार हुने धितोपत्र सेयर वा सामूहिक लगानी प्रयोजनको एकाइ भएमा अंकित मूल्य १० भएमा १०० कित्ता र अंकित मूल्य १०० भएमा १० कित्ता कारोबार हुने व्यवस्था रहेको जनाउँदै नेप्सेले सो व्यवस्थाको इमान्दारपूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको हो । १० कित्ताभन्दा कम परिणामको सेयर अडलट हुन्छ ।
यस्तो निर्देशनसँगै अब अडलटको सेयर कारोबार गर्न पाइने छैन । यस्तो व्यवस्थाभित्र शेयर, ऋणपत्र तथा सामूहिक लगानी कोषलाई समेत दायरामा ल्याइएको हो ।
रामसँग निफ्राको ३० कित्ता आईपीओ छ । उसले बोनसबापत २ कित्ता पायो र हाल रामसँग ३२ कित्ता सेयर छ । रामले ३० कित्ता सेयर बिक्री गर्यो भने रामसँग २ कित्ता सेयर बाँकी रहन्छ । रामले बाँकी रहेको २ कित्ता सेयर बिक्री गर्न भने पाउने नेप्सेले जनाएको छ ।
सीतासँग १९ कित्ता सेयर छ भने सीताले १० कित्ता र ९ कित्ता सेयर बिक्री गर्न पाउँछ । तर, सीताले सोही सेयर ११ कित्ता र ८ कित्ता गरी बिक्री गर्न नपाउने नेप्सेका प्रवक्ता मुराहरी पराजुरीले बताए ।
पराजुलीका अनुसार सेयर बिक्रीकर्ताले इन्टेन्सनली शेयर टुक्राएर बिजोडा अर्थात अडलट बनाएर सेयर बिक्री गर्न नपाइने हुन् तर, रेगुलरबाट बचेको शेयर बिक्री गर्न पाइनेछ ।