काठमाडौं । बुद्धजयन्ती मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भैरहवाको लुम्बिनीमा आउने भएका छन् । मोदी लुम्बिनीमा आउने भएपछि उनको स्वागतका लागि तयारी तीव्र पारिएको छ ।
जेठ २ गते मनाइने बुद्धजयन्तीकै अवसर पारेर मोदी लुम्बिनी आउने भएपछि उनका लागि हेलिप्याड बनाउने तयारी तीव्र पारेको छ ।
लुम्बिनी विकास कोषले सुविधासम्पन्न हेलिप्याड निर्माण गरिरहेको हो । कोषका सदस्यसचिव सानुराजा शाक्यले एकै पटक चारवटा हेलिकप्टर अवतरण गर्न मिल्ने गरी हेलिप्याड निर्माण गरिरहेको बताए ।
हाल दुइटा बनिसकेको र दुइटा अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘मोदी आउनु हुन्छ भनेर हेलिप्याड निर्माण गरिएको भने हैन, सदस्य सचिव शाक्यले भने, गुरुयोजना भित्रै रहेको काम गरिएको हो, उहाँ आउने संयोग मिलेको हो ।’
मोदी आउने औपचारिक जानकारी भने हालसम्म लुम्बिनी विकास कोषलाई नभएको उनको भनाइ छ । ‘अहिलेसम्म उहाँ आउने औपचारिक जानकारी हामीलाई छैन, सदस्यसचिव शाक्यले भने, अनौपचारिक जानकारीका आधारमा केही तयारी भने थालिएको छ ।’
प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र उद्घाटन गर्ने
सोही दिन लुम्बिनीमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभा गृहको उद्घाटनसमेत हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सो सम्मेलन केन्द्रमा ५ हजार जना अट्ने क्षमताको रहेको छ ।
प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मुख्यमन्त्री कुलप्रसाद केसीलगायतको सहभागिता रहनेछ । त्यसबाहेक नेपालस्थितविदेशीहरू विभिन्न राजदूतावासमा पनि बुद्धजयन्तीको अवसरमा हुने कार्यक्रमको लागि निम्तो पठाए पनि कुन–कुन देशका राजदूतहरू सहभागी हुँदै छन् भन्ने यकिन जानकारी भने नआएको कोषले जनाएको छ ।
२०७५ साल वैशाख १७ गते राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र स्वर्गीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शिल्यान्यास गरेका थिए । ३१ करोड ७९ लाख (मूल्य अभिवृद्धि करसहित) रुपैयाँको लागतमा सभागृह निर्माण भएको हो । ध्यान केन्द्र एएनके अर्घाखाँची बबुल जेभीले निर्माण गरेको हो ।
बुद्धजयन्ती मनाउन आउने पाहुनाहरूको स्वागतका लागि लुम्बिनी विकास कोषले ७ वटा स्वागतद्वार तयार गर्दै छ । लुम्बिनी विकास कोषले बनाएको गुरुयोजनाअन्तर्गतका कामहरूमध्ये हालसम्म ६८ प्रतिशत सकिएको सदस्यसचिव शाक्यले जानकारी दिए ।
अबको तीन वर्षभित्रमा गुरुयोजनामा भएका सबै कामहरू सकिने गरी काम भइरहेको उनको भनाइ छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई समेटेर सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको तयार पारेको लुम्बिनी गुरुयोजना तयार पारिएको थियो । सरकारले सो गुरुयोजनाको कामलाई राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको छ । हालसम्म गुरुयोजनामा राखिएकै कामहरूका लागि करिब ५ अर्बभन्दा बढी खर्च भइसकेको जनाएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन पनि हुँदै
बुद्धजयन्तीकै अवसर पारेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत उद्घाटन हँुदैछ । प्रधानमन्त्री देउँवाद्वारा उद्घाटन हुने सो कार्यक्रममा पनि भारतीय प्रधानमन्त्री मोदीलाई कुनै निमन्त्रणा भने दिइएको छैन ।
अहिले सो विमानस्थलको उडानका लागि भारतीय पक्षले हवाई रुटको समेत फाइनल गरिएको छैैन । यस अर्थमा पनि भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण हवाई रुटका लागि उपलब्धिमूलक हुन सक्ने आँकलन गर्न थालिएको छ । यद्यपि, दुवै प्रधानमन्त्रीहरूको औपचारिक भेट हुने वा नहुने भन्ने औपचारिक जानकारी भने दिइएको छैन ।
मोदीको कार्यक्रमको छैन तय
मोदी आउने भनिए पनि उनले लुम्बिनीमा आएर के–के गर्ने भन्ने औपचारिक कुनै जानकारी दिइएको छैन । ध्यान केन्द्रको उद्घाटन हालसम्म नेपालका प्रधानमन्त्री देउवाले मात्र उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी आउने भनिए पनि उनले के–के गर्दैछन् र कहाँ–कहाँ जान्छन् भन्ने यकिन जानकारी नभएकै कारण कुनै कार्यक्रम तय नभएको जनाएको छ ।