काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भए पनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो ।
हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
“सुरुङभित्रै बाढी नपसाेस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ”, उनले भने । काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् ।
कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा बागमतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ ।
गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी (भल्भ) खोलेर पुनःवितरण सुरु गरेका थिए। पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः ८ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो ।
गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो । उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो । सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन ।
असारमा पटक–पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो । वर्षा सकिएपछि पनि आयोजना स्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन । सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो ।
अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन । आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन । दातृ निकाय एशियाली विकास बैंक (एडीबी)ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ । बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ । रासस