काठमाडौं । उच्च बिन्दूबाट ओरोलो लागेको सेयर बजार सूचक ९ महिनाको अवधिमा यस अघिको न्यून बिन्दुबाट तल झरेर फेरि उकालो लागेको छ ।
२०७८ मंसिर २७ मा २२५९.५१ अंकसम्म झरेको नेप्से सूचक दोस्रो पटक गत साता पुरानो बिन्दुलाई छाडेर तल झरेको थियो । यसअघि भदौ २ गते नेप्से सूचकले एेतिहासिक रेकर्ड कायम गर्दै ३२२६ सम्म पुगेर ओर्लिएको हो । त्यसपछि पटक-पटक सूचक उक्लने कोसिस गरे पनि पुरानो उचाइलाई माथ दिन सकेको छैन ।
त्यसलाई पच्छ्याउँदै आइतबार २२०४ सम्म झर्न पुग्यो । मध्यान्तरपछि विस्तारै उक्लिन थालेको बजारले सकारात्मक छलाङ लिँदै १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुसम्म उक्लियो । आइतबार बजार सूचक बढाउन १३६ कम्पनीले सकारात्मक बाटो तय गरे ।
कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको जाल्पाले आइतबार पनि आफ्नो बाटोलाई पच्छ्यो । जाल्पालाई पच्छ्याउन खोजेको घलेम्दी हाइड्रोपावर र माउन्टेन इनर्जीको सेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले बढ्न पुग्यो ।
निरन्तर सुस्ताइरहेको बजारमा आइतबार न्यून बिन्दुबाट ५२ अंकको वृद्धि देखियो । यद्यपि, बिहीबारको तुलनामा भने यो करिब १८ अंकको बढाइ हो । बिहीबार २२३८.६२ बिन्दुमा रोकिएको सूचक आइतबार कारोबार खुल्दा १ अंकको बढोत्तरी गरेसँगै बजार घट्न थालेको थियो र दिनभरको कारोबार प्रवृत्तिले फ्ल्याट यू आधार निर्माण गरेको छ । र, अन्तिम समयमा कारोबार बन्द हुँदा बढेरै बन्द भएकाले सोमबार पनि बजार बढ्ने अनुमान गर्न सकिन्छ ।
तर, लगानीकर्ताहरुमा देखिएको थप नैरश्यता र वित्तीय वजारमा समस्याहरु (तरलता संकट, ब्याजदर वृद्धि, ऋण प्रवाहमा बन्देज, सेयर बजार प्रति नियामकको नकारात्मक धारणा) यथावत् रहेकाले सुरुवाती कारोबार प्रवृत्ति नहेरी आँकलन गर्न भने गाह्रो छ ।
आइतबारको कारोबार प्रवृत्तिले केही समय बजार सूचक २२०० कै बिन्दूमा अल्मलिने संकेत गरेको छ । स्थानीय तहको चुनावको माहोललाई सकारात्मक व्याख्या गर्दै बजार उचाल्ने प्रयासहरु हुन सक्छन् । तर, निर्वाचनपछि मात्रै बजारले कस्तो गति समाउँछ भनेर आँकलन गर्ने आधार तयार हुन सक्छ ।
निर्वाचनपछि तत्काल देखिएका तरलता संकट समाधान हुने त्यसले ब्याजदरमा सकारात्मक असर पार्ने र आम लगानीकर्तामा सकारात्मक मनोभाव पैदा गरायो भने बजारले थप गति लिन सक्छ । अन्यथा बजारले न्यून बिन्दु खोज्ने प्रवत्तिलाई पच्छ्याउन सक्छ ।
१३६ कम्पनीको मूल्य बढे पनि आइतबार ५२ कम्पनीको सेयर मूल्य भने घटेको छ । सबैभन्दा बढी उन्नति सहकार्य लघुवित्तको ४.९२ प्रतिशतले घटेको छ । उता आइतबारको कारोबारमा कुनै पनि कम्पनीको सेयर कारोबार १० करोड कट्न सकेको छैन । १ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच हुँदा नागरिक लगानी कोषको ७ करोड ५३ लाख रुपैयाँको मात्रै सेयर किनबेच भएको छ । आइतबारको कारोबार रकम गत बिहीबारको १ अर्ब ६० करोडको तुलनामा भने कम हो ।