काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको अपर दोर्दी ‘ए’ जलविद्युत आयोजनाले आउँदो जेठ ३१ गतेदेखि बिजुली उत्पादन थाल्ने भएको छ ।
आयोजनाबाट चैत १७ गतेदेखि बिजुली उत्पादन थाल्ने लक्ष्य तय गरिए पनि प्रसारण लाइनको काम पूरा नभएकाले दुई महिनापछि धकेलिएको छ ।
आउँदो जेठ ३१ गतेदेखि बिजुली उत्पादन हुने लिवर्टीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ । आयोजना लम्जुङमा पर्छ । आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीले २४.६ मेगावाटको बडीगाड र १.५ मेगावाटको लोदोखोला आयोजनाको संभाव्यता अध्ययन गरिरहेको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा रहेको छ । आयोजना विसं २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्पपछिको अघोषित नाकाबन्दी र विसं २०७६ भदौमा आएको बाढी र कोरोना महामारीले आयोजना पछि धकेलिँदै आएको छ ।
निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड रुपैयाँ पुग्ने अनुमान छ । आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएकोमा योभन्दा बढी हुने बताइएको छ ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट २ हजार ७०० मिटर लामो भूमिगत सुरुङ र २ हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत गृहमा झारिने छ । आयोजनामा १२ दशमलव पाँचका दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ ।
जिल्लाभरि एक दर्जन आयोजना निर्माणाधीन रहेका छन् । भने केही आयोजना निर्माण हुने तयारीमा रहेका छन् ।बेसीशहर नगरपालिका–१ दलालमा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्र, मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राधी, ३ मेगावाटको मिदिम करापु, २ मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेको छ ।