काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ देखि २४ फेब्रुअरी २०२० सम्म नेपाल इन्डिया चाइना एक्सपो (नाइस) आयोजना गर्न भएको छ ।
विश्व पर्यटन इतिहासमै पहिलो पटक तीन ओटा मुलुक समावेश भई आयोजना गरिने नाइस पर्यटन मेला पहिलो हो । यसले नेपालको पर्यटन प्रवद्र्धन तथा विकासका लागि सबैभन्दा महत्त्वपूर्ण र निकट छिमेकी पर्यटन स्रोतबजार (चीन र भारत)बाट पर्यटन सम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवम् सङ्घ संस्थालाई एकै थलोमा ल्याउने छ ।
मेलाले आपसी व्यापार प्रवद्र्धन, सम्पर्क सञ्जालको विस्तार तथा त्रिदेशीय पर्यटनको नयाँ आयामहरु उजागर गराउन प्रेरणा प्रदान गर्ने महत्त्वपूर्ण मञ्च बन्ने पाटा नेपालले जानकारी दिएको छ ।
दक्षिण एसिया तथा विश्वकै दुई ठूला अर्थव्यवस्था एवम् बृहत् पर्यटन स्रोतबजारलाई नेपालको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधता एवम् प्राकृतिक सौन्दर्यका बारेमा जानकारी प्राप्त गर्न मेलाले सहयोग मिल्ने छ ।
सन् २०१८ को तथ्याङ्कअनुसार चीनबाट वार्षिक १५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ०.१ प्रतिशतले र २५.८५ मिलियन भारतीय आउटबाउन्ड पर्यटकमध्ये ०.७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् ।
दुई छिमेकी मुलुकको पर्यटक आगमन हेर्दा नेपालले सम्भावनाअनुरुप अपेक्षित लाभ लिन नसकेको प्रष्ट देखिन्छ । लामो समयदेखि नै छिमेकी राष्ट्रहरु नेपाल भारत र चीनबीच दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहँदै आएको छ ।
तर, त्रिदेशीय पर्यटन पर्वद्धनका निम्ति यथोचित पहल नभएको सन्दर्भमा नाइस कार्यक्रमले तीन ओटै मुलुकबीच विद्यमान एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसर उत्थान एवम सहजीकरण गर्दै तीन देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।
नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० तथा सन् २०३० सम्म ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिका लागि महत्त्वपूर्ण आधारशीला तयार पार्ने अपेक्षा गरेको छ ।
यस ऐतिहासिक एक्स्पोमा पाटाले २०० भन्दा बढी क्रेता, १०० बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्तालगायत पर्यटनसँग सम्बद्ध स्थानीय सङ्घसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १००० भन्दा बढी अतिथि सहभागी हुने पाटाले जनाएको छ ।