पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो– बर्दिया राष्ट्रिय निकुञ्ज । ९६८ वर्ग किलोमिटरमा फैलिएको यस निकुञ्जमा बर्सेनि हजारौं पर्यटक भित्रिन्छन् ।
सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो निकुञ्ज पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो भने २०४५ मंसिर २० गते बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भएको थियो ।
बर्दिया जिल्लाका कर्णाली र बबई नदीका केही भागसमेत समेटेको यो निकुञ्ज तराईका राष्ट्रिय निकुञ्जहरूमध्ये सबैभन्दा ठूलो हो ।
निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगललढाकेको र बीच बीचमा घाँसे मैदान छ ।
पाटेबाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् ।
जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा पनि यस निकुञ्जमा पाइन्छन् ।
यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यपर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनि पर्यटकको संख्या बढिरहेको छ ।