काठमाडौं । सिमेन्ट उद्योगबाट व्यावसायिक यात्रा सुरु गरेका उद्योगी राजकुमार पोखरेलले भैरहवामा चारतारे होटल ‘बुद्धस्टार’ सञ्चालनमा ल्याउने भएका छन् ।
अग्नि र प्युठान सिमेन्टमा लगानी गरेका पोखरेलले भैरहवामा तारे होटल निर्माण गरिरहेका छन् । अग्नि र शुभश्री अग्नि सिमेन्टका सञ्चालक पोखरेलले १ अर्ब ८९ करोड लगानीमा तारे होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरेलले सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउन लागेका हुन् । भैरहवामा अहिले पनि सुविधासम्पन्न होटल उल्लेख्य मात्रामा छन् ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि त्यस क्षेत्रमा होटलहरुको थप माग बढ्ने सक्ने सम्भावना देखेर उनले अर्बौंको लगानी गर्न लागेका हुन् ।
पछिल्लो समय भैरहवा उत्पादनमूलकबाट सेवामूलक क्षेत्रमा पनि प्रवेश गरिरहेको छ । भारतीय पर्यटकहरुको प्रमुख गन्तव्य भैरहवा र त्यस वरिपरि हुन थालेपछि लगानीकर्ता हस्पिटालिटी सेक्टरतर्फ आकर्षित भएका हुन् ।
होटलको पूर्वाधार निर्माणको चरणमा रहेकाले आगामी सन् २०२५ मा सञ्चालनमा ल्याउन तयारी गरिएको छ ।
होटलमा ८० प्रतिशत बैंकबाट ऋण र बाँकी २० प्रतिशत पोखरेल परिवारले स्वपुँजी (इक्विटी) लगानी गरेका छन् ।
सुरुमा तीनतारे होटल प्रस्ताव गरिएकोमा पछि स्तरोन्नति गरी चारतारे बनाइएको छ ।
होटल बुद्धस्टार प्राइभेट लिमिटेडले सञ्चालन गर्ने सो होटलमा १२० वटा कोठा हुने छन् ।
यसअघि होटल बनाउन ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । त्यस बेला ६५ करोड रुपैयाँ बैंकको ऋण लगानी र बाँकी स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको थियो ।
जसअनुसार ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहेको थियो । होटल सन् २०१९ को नोभेम्बरबाट सुरु भई यो वर्ष (सन् २०२२) को अन्त्यसम्म सञ्चालनमा ल्याउने तयारी भएको थियो ।
हालसम्म होटल निर्माणमा २२ प्रतिशत प्रगति भएको छ । होटलको डिजाइनमा परिवर्तन र लागत थप भएपछि ढिलाइ हुन गएको हो ।
बैंकमा भएको तरलता समस्याले गर्दा ऋण पाउन गाह्रो परेको होटलले जनाएको छ ।
होटलले ६६ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्रा एनपी एलबी ए फोर रेटिङ दिएको छ ।