काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेसले बैंकबाट ऋण लिने भएको छ ।
होटलले २ अर्ब ४९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।
टाइगर वान प्राइभेट लिमिटेडले सञ्चालन गरेको सो होटलको ऋणलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी एलबी ए फोर रेटिङ दिएको छ ।होटलले दीर्घकालका लागि २ अर्ब २१ करोड र अल्पकालका लागि २८ करोड रुपैयाँ ऋणको रेटिङ गराएको हो ।
सन् २०१९ मा होटलले ७४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोभिड महामारीले सन् २०२१ मा १ करोड ६३ लाख रुपैयाँ मात्र गरेको छ । कोरोना महामारीले होटल बन्द भएपछि आम्दानीमा भारी गिरावट आएको हो ।
सन् २०२० मा ५९ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१८ मा ३६ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो । कोभिड महामारी सुरु भएयता मध्यमार्च सन् २०२० देखि सन् २०२१ नोभेम्बरसम्म २० महिना होटल पूरै बन्द भएको थियो ।
होटल नेपाल–भारत सीमाको सुनौली नाकाबाट १० किलोमिटर उत्तरमा रहेको छ । १७ बिघा जमिनमा फैलिएको टाइगर प्यालेसको क्यासिनोसहित १ सय २ वटा कोठा छन् । एसएचएल म्यानेजमेन्ट सर्भिसले क्यासिनो सञ्चालन गर्दै आएको छ ।
एसएचएल टाइगर वानको सहायक कम्पनीको हो । २०७४ सालबाट सञ्चालनमा रहेको सो रिसोर्ट ५ अर्ब २० करोड रुपैयाँ लगानी भएको छ । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले होटल सञ्चालनमा ल्याएको हो । सिल्भर हेरिटेज हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप नेपालको सहायक कम्पनी हो ।
रिसोर्ट तिलोत्तमा नगरपालिकाको कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको छ । क्यासिनोसमेत रहेको सो रिसोर्ट निर्माणसँगै विवादमा समेत रहँदै आएको थियो । विवादकै कारण लामो समयदेखि सो ग्रुप रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो । तर, पटक–पटक भएको डिल भंग हुँदै आएको छ ।