काठमाडौं । बिमा कम्पनीहरुले एक वर्षको अवधि छोटो भएको भन्दै पुँजी वृद्धिको म्याद थप्न माग गरेका छन् । कम्पनीले पुँजी वृद्धिका लागि एक वर्ष कम भएको भन्दै नियामक बिमा समितिलाई समय थप गरिदिन भनेका छन् ।
समितिले जीवन र निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग गरेको छलफलमा केही बिमा कम्पनीले पुँजी वृद्धि गर्न चैत मसान्तसम्म नसकिने स्पष्ट पारेको थियो ।
केही बिमा कम्पनीले मर्जमा गएर पुँजी पुर्याउने र केहीले हकप्रद सेयर निष्कासन र बोनस सेयर दिएर पुँजी वृद्धि गर्ने जनाएका छन् ।
‘समितिले चैत मसान्तसम्म तोकिएको पुँजी पुर्याइसक्नुपर्ने भनेको छ । एक बिमा कम्पनीका सीईओले क्यापिटल नेपालसँग भने, ‘हामीले बोनस सेयर वितरण र बाँकी हकप्रद निष्कासन गरेर न्यूनतम चुक्ता पुँजी युर्याउनेछौं । तर, चालू आर्थिक वर्षको चैत मसान्तसम्म भने सम्भव छैन । ११ महिना मात्र बाँकी छ । समितिले पुँजी वृद्धिका लागि समय थपिदिए सम्भव हुन्छ ।’
यता समिति भने कुनै हालमा पुँजी वृद्धिको समय नथपिने बताउँछ । पुँजी वृद्धि गर्न एक वर्ष समय–सीमा पर्याप्त भएकाले चैत मसान्तसम्म सबै बिमा कम्पनीले पुँजी वृद्धि गरिसक्नुपर्ने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
हाल सञ्चालमा रहेका जीवन र निर्जीवन गरी ३९ बिमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी समितिले तोकेको सीमाअनुसार छ ।
नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने शिखरको २ अर्ब २८ करोड रुपैयाँ छ । अन्य ३७ बिमा कम्पनीले भने समितिको निर्देशनअनुसार पुँजी वृद्धि गर्नुपर्ने हुन्छ ।
समितिले पुँजी वृद्धि योजनामार्फत कम्पनीको संख्या घटाउन चाहिरहेको छ । बजारमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भएको समितिको बुझाइ छ ।
अर्कोतर्फ नेपालमा अझै पनि बिमाको बजार खाली रहेको तर कम्पनीसँग अझै पनि क्षमता कम रहेको उनको भनाइ छ ।
कम्पनीको पुँजीकोष जति ठूलो हुन्छ त्यसले बजारलाई विस्तार गर्न र माथि पुर्याउन सजिलो हुने पौडेलको भनाइ छ । कम्पनीहरुले बुझाएको पुँजी वृद्धि योजनामाथि समितिमा अध्ययन भइरहेकोे र त्यसपछि मात्र कसरी पुँजीवृद्धि गर्न दिने भन्ने निर्णय गर्ने पौडेलले जानकारी गराए ।
बिमा कम्पनीहरुले हकप्रद सेयर निष्कासन र बोनस सेयर दिएर चुक्ता पुँजी बढाउने योजना समितिमा पेस गरेका छन् ।
हाल अधिकांश जीवन बिमा कम्पनीको चुक्तापुँजी २ देखि ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफको ८ अर्ब २० करोड र नेसनल लाइफको ४ अर्ब ३ करोड रुपैयाँ चुक्तापुँजी छ । नेपाल लाइफबाहेक १८ जीवन बिमा कम्पनीले चुक्तापुँजी बढाउन क्यापिटल प्लान समितिमा बुझाइसकेका छन् ।
त्यसैगरी अधिकांश निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ देखि साढे १ अर्ब रुपैयाँ छ । सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २ अर्ब २८ करोड सबैभन्दा कम सरकारको स्वामित्व रहेको राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
यसअघि निर्जीवन बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीका लागि न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको थियो ।
आधा दर्जन बिमा कम्पनी मर्जमा जाँदै
करिब आधा दर्जन बिमा कम्पनी मर्जमा जान इच्छुक देखिएका छन् । ३ जीवन र ३ निर्जीवन गरी ६ बिमा कम्पनीहरु पुँजी वृद्धि गर्न मर्जमा जान इच्छुक देखिएका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीले मर्जमा जान बिहीबार नै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेका छन् ।
मर्जपछि उनीहरुको न्यूततम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।