काठमाडौं । पेन्ट्स उद्योगहरूले आयातित कच्चा पदार्थमा भन्सारशुल्क घटाउन माग गरेका छन् । पेन्ट्स उद्योगहरूले तिर्दै आएको ३० प्रतिशत भन्सारशुल्क घटाएर ५ प्रतिशतमा झार्न माग गरेका हुन् ।
पेन्ट्सका लागि आवश्यक मुख्य कच्चा पदार्थको आयात गर्दा उद्योगहरूले तयारी उत्पादनसरह भन्सारशुल्क तिर्नु परेको पेन्ट्स उद्योग संघले जनाएको छ । साथै नेपाल पेन्ट्समा आत्मनिर्भर भइसकेको बताउँदै विदेशबाट आउने तयारी पेन्ट्समा काउन्टर भेलिङ शुल्क लगाउनसमेत उद्योगीले सुझाव दिएका छन् ।
संघका अनुसार ‘एक्रिलिक पोलिमर’ सबै पानीमा आधारित पेन्ट्स तयार गर्न आवश्यक मुख्य कच्चापदार्थ हो । उक्त पानीमा आधारित पेन्ट्स कुल बिक्रीको लगभग ७५ प्रतिशत छ । तर, सरकारले एक्रिलिक पोलिमस्को आयातमा ३० प्रतिशत भन्सार लिँदा उद्योगीहरुलाई समस्या भएको संघका अध्यक्ष विश्व प्रकाश साख बताउँछन् ।
त्यस्तै इमल्सन एचएसएन कोड ३९.०६ अन्तर्गत वर्गीकृत गरिएको वाटर बेस्ड पेन्टका लागि कच्चापदार्थ हो । तर, भन्सार विभागले २०७६ असारमा जारी गरेको पत्रमा एक्रिलिक पोलिमरलाई फिनिस्ड गुड, पेन्ट्स एन्ड भार्निसका लागि तोकिएको कोड ३२.०९ अन्तर्गत वर्गीकृत गर्न निर्देशन दिएको छ । जसका कारण १० प्रतिशत मात्र तिर्नुपर्ने ठाउँमा ३० प्रतिशत भन्सार तिर्नु परेको संघका अध्यक्ष साखको भनाइ छ ।
त्यस्तै वित्तीय ऐन २०७७/७८ ले टाइटेनियम डाइअक्साइडको आयातमा १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत गरेको छ । यद्यपि पेन्ट्स उद्योगहरुले टाइटेनियम डाइअक्साइडलाई ३२.०६.११.०० मा आयात गर्नु परिरहेको छ । उक्त कोडका कारण हालसम्म पनि १५ प्रतिशत नै भन्सार तिर्नुपर्ने बाध्यता उद्योगीहरुलाई भएकाले एचएसएन कोड सच्याउन नेपाल पेन्ट्स उद्योगले माग गरेको छ ।
तयारी वस्तुको आयातको तुलनामा कच्चा पदार्थको आयातमा एक तह कम भन्सारशुल्क निर्धारण गर्ने सरकारको नीति रहेको छ । यद्यपि, ह्वाइट सिमेन्टलगायत कतिपय कच्चापदार्थ र प्याकेजिङ सामग्रीहरूको हकमा भने यो नीति पालना नभएको पनि संघले जनाएको छ ।
विगत ४० वर्षदेखि नेपालमा पेन्ट्स उद्योगहरू सञ्चालनमा आएका छन् । हाल ५० भन्दा बढी पेन्ट्स उद्योगहरु रहेको संघले जनाएको छ ।
नेपालमा रहेका सबै उद्योगहरु गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर रहेको अध्यक्ष साखले बताए । साथै स्वदेशी माग धान्न सक्ने अवस्थामा नेपालका पेन्ट्स उद्योगहरु रहेको समेत उनको भनाइ छ ।
पेन्ट्स उद्योगहरूले झेलिरहेको समस्याको ध्यानाकर्षण गराउन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘नेपालमा २० अर्ब रुपैयाँबराबरको पेन्ट्सको बजार छ । त्यो सबै माग धान्न सक्ने क्षमता स्वदेशी उद्योगसँग छ ।’
५० भन्दा बढी पेन्ट्स उद्योगहरुले २८ सयभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको संघले जनाएको छ । स्वदेशी माग धान्न सक्ने अवस्थामा रहेका नेपाली पेन्ट्स उद्योगले तत्काल विदेशमा निर्याग गर्ने सम्भावना भने नरहेको अध्यक्ष विश्व प्रकाश साख बताउँछन् ।
‘कच्चा पदार्थ विदेशबाट महँगो भन्सार तिरेर ल्याएकाले निर्यात गर्न सक्ने सम्भावना भने कम छ’, उनले भने ।