काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेड एक-आपसमा गाभिने (मर्ज) मा जाने भएका छन् । दुवै संस्थाका अधिकारीले मर्जमा जार्ने समझादारीपत्र (एमओयू) मा बिहीबार हस्ताक्षर गरेका छन् ।
निर्जीवन बिमा व्यवसाय गर्दै आएका कम्पनीबीच यो पहिलो मर्ज हुन लागेको हो । दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय हुने सेयर लगानीकर्ता राजेन्द्रकुमार खेतानले बताए ।
उनले डीडीए रिपोर्ट जे आउँछ त्यही आधारमा स्वाप रेसियो तय हुने स्पष्ट पारे । त्यसपछि कम्पनीका सञ्चालक, अध्यक्ष र प्रमखु कार्यकारी अधिकृत (सीईओ) छनौट हुने उनले जानकारी दिए ।
‘अन्य कम्पनीहरूमा पहिला सञ्चालक, अध्यक्ष र सीईओ निश्चित गरेपछि मात्र मर्जमा जाने एमओयू हुने गरेकामा हामीले पछि हुने निर्णय गरेका छौं’, उनले भने, ‘कम्पनीमा आउने सञ्चालक, अध्यक्ष र सीईओ प्रोफेसनल हुनुपर्छ ।’
हिमालयनको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेस्टको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । समान हैसियतमा मर्ज भएमा एकीकृत कम्पनीको चुक्ता पुँजी बढेर २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
बिमा समितिले निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकेको छ । समितिले २०७९ चैतभित्र चुक्ता पुँजी न्यूनतम २ अर्ब रुपैयाँ पुर्याउन समयसीमासमेत दिएको छ ।
बिमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीहरू मर्जमा जान लागेका हुन् । दुवैले हकप्रद सेयर निष्कासन नगरी मर्जमा जाने बाटो रोजेका छन् ।
दुवै संस्थाको एमओयूले अब अन्य कम्पनीलाई पनि मर्जमा जान दबाब सिर्जना हुनेछ ।