एजेन्सी । कोइलाको चरम अभाव भएसँगै यति बेला भारतमा विद्युत् संकट गहिरिँदै गइरहेको छ ।
बढ्दो कोइला संकटबाट बच्न केन्द्रीय सरकारले भारतका विभिन्न राज्यमा एकपछि अर्को कदम उठाइरहेको छ ।
यसै क्रममा सरकारले राज्यमा कोइला रेक परिवहनका लागि ठूलो संख्यामा ट्रेन रद्द गर्ने निर्णय गरेको छ ।
यो निर्णयले तत्कालको कोइला अभावलाई कम गर्ने बताइएको छ ।
२४ मेसम्म झन्डै ११०० ट्रेन रद्द भइसकेका छन् ।
ऊर्जा मन्त्रीको स्वीकारोक्ति
थर्मल पावर प्लान्मा कोइला संकट बढेकाले भारतमा धेरैजसो राज्यमा विद्युत् संकट दिनानुदिन बढिरहेको छ । गर्मीले पनि लगातार रेकर्ड बनाइरहेको छ । जसले गर्दा विद्युत् माग अत्यधिक छ । तर, आपूर्ति हुन सकिरहेको छैन ।
यसको ठूलो कारण कोइला अभाव भएको बताइएको छ ।
भारतका केन्द्रीय ऊर्जामन्त्री आरके सिंहले पनि राज्यहरुमा कोइलाको अभाव भएको स्वीकार गरेका छन् । तर, उनले यसको कारण रुस–युक्रेन युद्ध भएको बताए ।
एक्सप्रेस, मेल र प्यासेन्जर ट्रेन रद्द
२४ मेसम्म रद्द भएका ट्रेनहरुमा एक्सप्रेस, मेल र प्यासेन्जर छन् । यद्यपि सरकारको यस्तो कदमले यात्रीहरुले दुःख पाए पनि विद्युत् संकट टार्न केही राहत हुन सक्ने बताइएको छ ।
२९ मेमा पनि रद्द
कोइला आपूर्ति गर्ने उद्देश्यले एक्स्प्रेस, मेल ट्रेनको ५०० ट्रिप तथा ५८० प्यासेन्जर ट्रिप रद्द भएका छन् । यसअघि भारतीय रेलवेले २९ अप्रिलमा ४०० कोइला रेकको आवतजावतका लागि देशभरका २४० प्यासेन्जर ट्रेन रद्द गर्ने घोषणा गरेको थियो ।
देशका विभिन्न थर्मल प्लान्टमा कोइला भरिएका ट्रेनलाई सजिलै बाटो दिई विद्युत् संकटबाट बच्न सकिने भनिएको थियो । यसकारण विभिन्न रुटमा कैयौं ट्रेन रद्द गर्नुपरेको बताइएको थियो ।
६ वर्षमा सर्वाधिक विद्युत् कटौती
एक रिपोर्टअनुसार भारतमा प्रचण्ड गर्मीका कारण विद्युत् कटौती भइरहेको छ । जुन पछिल्लो ६ वर्षयताकै ठूलो कटौती हो ।
विद्युत् उत्पादनमा सहयोग गर्ने कोइलाको चरम अभाव हुँदा यस्तो अवस्था सिर्जना भएको हो ।
कोइलाखानी ९ वर्षकै सर्वाधिक प्री–ग्रिष्मकालीन स्तरमा आएको छ ।
गत बिहीबार विद्युत् मन्त्रालयले नै भारतमा पिक आवरको मागले रेकर्ड राखेको बताएको थियो ।
उत्तर र मध्य भारतमा बढेको गर्मीका कारण बिजुलीको माग २.१४ लाख मेगावाट पुगेको छ ।
तर, कोइला अभावले आवश्यक विद्युत् आपूर्ति हुन सकिरहेको छैन ।